सर्वोच्चको फैसलाअघि ‘हाई अलर्ट’, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको आज (सोमबार) फैसला सुनाउने तयारी भइरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने सम्भावनाका बीच काठमाडौंमा चार वटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ । फैसलाले जन्माउने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको हो ।

आज काठमाडौंका सडकमा ७०० बढी प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने, ‘हामी तयारी अवस्थामा छौं । सुरक्षा व्यवस्था दुरुस्त बनाएका छौं ।’ सुरक्षा निकायले सर्वोच्चको नतिजा जस्तो पनि आउन सक्ने भएकाले तयारीमा रहन मातहतलाई निर्देशन समेत दिएका छन् । नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरी बल पनि उल्लेख्य मात्रामा परिचालित भएको छ ।

विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवासहित १४६ जना सांसदले संसद पुनः स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न गर्दै रिट निवेदन दर्ता भएकोमा संवैधानिक इजलासमा लामो बहसपछि आज फैसला सुनाउने तयारी भएको हो ।

मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले मुद्धाको सुनुवाई भएको हो । फैसला सुनाउने तयारी हुँदै गर्दा अदालतले के फैसला गर्ला भन्ने चौतर्फी चासो छ ।

 
 
  
 

You may also like