बागलुङ। बागलुङ गलकोटका दुई पुरुषको स्थिति अझै अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार १७ दिनदेखि बेपत्ता छन् ।
घाँस काट्न जाँदा बेखबर भएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन । प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिमप्राप्त कुकुरसहित प्रहरी खोजीकाममा जुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न गएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर तत्कालै खोजीमा लागेका थिए । चार दिन बित्दा समेत उनी नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालन गरिएको हो । बुढाथोकी हराएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।
यस्तै नियमित प्रातःकालीन भ्रमण (मर्निङवाक) मा निस्कएका ४६ वर्षीय सुनार जेठ २९ गतदेखि बेपत्ता छन् । परिवारजनका अनुसार रामरेखाबाट मालढुङ्गा जाने क्रममा उनी हराएका हुन् । सुनारले सधैं सोही मार्गमा ‘मर्निङवाक’ गर्ने गरेको आफन्त पर्ने भाइ सज्जनकुमार सिंहले बताए । ‘दाइ लामो समयसम्म घर नफर्केपछि धेरैतिर खोजी गरियो, स्याङ्जासम्म पुग्यौं, अझै केही पत्ता लाग्न सकेको छैन’, उनले भने ।
परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजी कार्य जारी राखेको छ । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका स्थायी बासिन्दा सुनार लामो समयदेखि बागलुङमा बस्दै आएका छन् ।