कोरोना निको हुने दर ९२ प्रतिशत

काठमाडौं। कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको संख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बरभन्दा बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप चार हजार ९१४ जना सङ्क्रमित निको भएका छन् भने दुई हजार १६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणबाट निको हुने दर ९१ दशमलव ९ प्रतिशत छ । विज्ञहरूका अनुसार कोरोना निको हुने दर नेपालमा उच्च छ । नेपालमा हालसम्म छ लाख ६३ हजार ८५७ जनालाई कोरोना पुष्टि भएको छ भने पाँच लाख ८१ हजार ३२७ जना सङ्क्रमित निको भएका छन् ।
हाल देशभर ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा चार हजार ७०४ जनाको पीसीआर र चार हजार ८०६ जनाको एन्टिजेन गरी कुल नौ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो ।

काठमाडौंमा १८१, भक्तपुरमा २५ र ललितपुरमा ४३ जना गरी काठमाडौँ उपत्यकामा थप २४९ जना सङ्क्रमित थपिएका छन् । यस्तै देशभरका कोरोना अस्पतालका आईसीयूमा ७३४ र भेन्टिलेटरमा २२२ जना सङ्क्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार ९७५ पुगेको छ । गोरखापत्र दैनिकबाट

 

 
 
  
 

You may also like