गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको प्राथमिकतामा कृषि र पशुपालनमा परेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले नवौँ गाउँसभामा आव २०७८/०७९ को लागि पेश गरेको नीति तथा कार्यक्रममा कृषि र पशुपालन प्राथमिकतामा परेको हो ।
गाउँपालिकाले कृषि र पशुको व्यवसायीकरणमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा बाख्रा विकास तथा कृषि विकास कार्यक्रम सञ्चालन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने नीति लिइएको छ ।
गाउँपालिकाले स्थानीय तथा राष्ट्रिय महत्वका खाद्य र पोषण सुरक्षामा टेवा पु¥याउने खाद्य वस्तुको उत्पादन गरी कृषि उत्पादन केन्द्रको स्थापना गर्ने लक्ष्य लिएको छ ।
विपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि निःशुल्क ड्रेश उपलब्ध गराउने, जनज्योती क्याम्पसमा ‘छोरीबुहारी उच्च शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
उत्कृष्ठ कर्मचारीलाई सम्मान, सबै आर्थिक कारोबार बैङ्किक प्रणालीमार्फत सञ्चालन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन, अतिविपन्न र असहायहरुको निःशुल्क स्वास्थ्य परीक्षण, फूलखेतीमा प्रोत्साहन तथा बालमैत्री स्थानीय शासन व्यवस्था रहेको जनाइएको छ ।
सो गाउँपालिकाले रु ५४ करोड ७७ लाख ९० हजार बराबरको बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष सरिता खड्काले पेश गरेको बजेट सर्वसम्मतले पारित भएको छ ।