निजी विद्यालयले बिभिन्न बहानामा चर्काे शुल्क लिएको प्रति अभिभावक महासंघको आपत्ति

बुटवल । रुपन्देहीका केही निजी विद्यालयहरुले अनलाईन कक्षा शुल्क बाहेक अन्य अतिरिक्त शुल्क विद्यार्थीबाट लिएको भन्दै नेपाल अभिभावक महासंघले त्यसप्रति आफ्नो ध्याकर्षण भएको जनाएको छ ।

कोरोना महामारी र त्यसपछि संचालन भएका निजी विद्यालयहरुले चर्काे शुल्क लिएको र भौतिक रुपमा विद्यालयमा उपस्थित नभएका विद्यार्थीबाट कम्प्युटर, नृत्य, यातायात लगायतको शुल्क लिएको प्रति अभिभावक महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली तथा लुम्विनी प्रदेश अध्यक्ष हेमबहादुर थापाले संयुक्त रुपमै विज्ञप्ती निकालेर निजी विद्यालयले अतिरिक्त विषयमा विद्यार्थीबाट लिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गर्नु भएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, एकातर्फ निजी विद्यालयले अतिरिक्त शुल्क लिने र अर्काेतर्फ अघिल्लो कक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई मार्कसीट र चरित्र सर्टिफिकेट नदिने तथा आफ्नै विद्यालयमा जवरजस्ती भर्ना गर्न बाध्य बनाउने कार्यले अभिभावक महासंघको ध्यानाकर्षण भएको उल्लेख छ । निजी तथा संस्थागत विद्यालयले नियम विपरित चर्काे शुल्क लिएको र त्यसलाई सच्चाउन पनि महासंघले माग गरेको छ ।

निजि विद्यालयले उक्त निर्णयलाई नसच्चाए आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ । नयाँ शैक्षिकसंगै आवश्यक पर्ने पाठ्यपुस्तकहरु सहज र सुलभ रुपमा विद्यार्थीले प्राप्त गर्ने वातावरण मिलाउन समेत महासंघले माग गरेको छ ।

 
 
  
 

You may also like