अंग्रेजीमा एउटा भनाई छ – झुठले संसारको दुई फन्को लगाइसक्दा सत्य घरबाट निस्कन भर्खर जुत्ताको तुना कस्दै हुन्छ । यसको अर्थ हुन्छ – सत्य ढिलो गरि एक ठाउँबाट अर्को ठाउँ पुग्छ तर झुठको फैलावटको गति तिव्र हुन्छ । वास्तवमा के कारणले सत्य सँधै अफ्ठ्यारो र दुर्लभ हुन्छ अनि झुठ सजिलो र सहज हुन्छ ?
यसको जवाफ रोचक छ र मानविय पनि । रोचक यो अर्थमा कि यसलाई भिन्न भिन्न किसिमले व्याख्या गर्न सकिन्छ । लामो वा छोटो आलेख तयार पार्न सकिन्छ । मानविय यो कारणले छ कि यो प्रक्रियामा कतै पनि पिण्ड र तौल वा आद्रता र प्रकाशको गति कुनै पनि कुराको असर हुन्न । असर हुन्छ त केवल मानविय क्षमता र विशेषताहरुको ।
त्यस्तै सत्य र ज्ञानको विशेषता तथा कमजोरीले पनि यसमा भुमिका खेलेको हुन्छ । स्वयम सत्यकै सिमितताले सत्यलाई बेला बेला कमजोर बनाइदिन्छ ।
यसबारे सामाजिक सञ्जाल फेसबुकमा एउटा कथा भेटेको छु । कथा यस प्रकार छ :
उहिल्यै उहिल्यैको कुरो हो । एक दिन सत्य र झुठको भेट भयो । झुठले सत्यलाई भन्यो, “आज बढो रमाइलो घमाइलो दिन छ । सँगै खेलौँ ।”
हुन पनि त्यो दिन अद्भुत नै थियो । हेर्दै राम्रो । चुपचाप बस्नै मन नलाग्ने किसिमको । सत्यले झुठको कुरा नकार्ने कारण थिएन ।
दुवैले धेरैबेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे ।
झुठले सत्यलाई फकायो, “उखर्माउलो गर्मी छ । हिड्दा हिड्दा असिनपसिन नै भइयो । अब इनारमा पसौँ र मज्जाले नुहाऔँ ।”
यसमा पनि सत्यले नकारेन ।
दुवैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र डुबुल्की मारे । केही बेर इनारमा नुहाएपछि झुठ कुनै बहाना बनाएर पोखरीबाट बाहिर निस्क्यो । आफ्ना लुगा पोको पारेर बोक्यो । आफु भने सत्यका सबै लुगा लगाएर हिड्यो । झुठले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि पनि सोच्यो कि झुठ जिस्किरहेको छ तर झुठ निकै बेरमा पनि फर्किएन ।
त्यसपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर बाहिरिएर झुठलाई खोज्न निस्कियो । उ झुठलाई खोज्दै निकै परसम्म पुग्यो । मानिसहरुले उसको कुरा सुन्दै सुनेनन्, बरु नाङ्गै हिँडेको सत्यलाई देखेर दुनियाँले नाक खुम्चाए, दुत्कारे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । सत्यले कसै गरे पनि झुठलाई भेटेन । न उसले कसैको सहयोग नै पायो ।
बिचरा सत्य, फेरि उही पोखरीमा फर्केर पानी भित्र लाज लुकाउन सदाको निम्ति पोखरीमा गायब भयो ।
अनि झुठ त्यसबेला देखि नै सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ । सत्यको आवरणमा ढाकिएको उसलाई सबैले मन पराएका छन् । नग्न सत्यको रुपलाई समाजले स्विकार्न चाहेको छैन । त्यसैले नग्न सत्य गायब छ । लुकी राखेकै छ ।
वास्तवमा सत्यको समस्या नै यहि हो । सत्यलाई पहिरन वा आवरणका आधारमा छुट्याउँन सकिदैन । भन्न त भनिन्छ, आवरण जस्तो भए पनि सत्य सँधै पुज्य हुन्छ तर व्यवहारिकरुपमा यो एकदमै कठिन हुन्छ । सत्य भन्दा झुठमा, कृत्रिम नै भए पनि चमक बढि हुन्छ । झुठसँग तर्क बढि हुन्छ ।
ज्ञान नै सत्य हो तर यो विविध हुन्छ
वास्तविक सत्य भनेको ज्ञान हो । सत्य सँधै आफुले बनाएको सत्यताको जगमा उभिएको हुन्छ तर सत्यताको जग समय र मानिस अनुसार फरक फरक हुन पुग्छ किनभने जब सत्य फैलिन्छ तब मानिसहरुले त्यसलाई आफ्नो किसिमको व्याख्या मिसाइदिन्छन् । मिसिएको व्याख्याले सत्य सुन्ने र थाहा पाउँनेहरुले आफ्नो क्षमता अनुसार बुझ्छन् । ज्ञान परिवर्तन हुन्छ । अझ आफ्नो स्वार्थको हिसाबले मानिसहरु ज्ञान र सत्यलाई तोडमरोड पनि गर्दिन्छन् । यसैले उहि सत्य पनि मानिस र समय अनुसार फरक पर्दै जान्छ ।
समय बढ्दै जाँदा र मानिसहरुको सत्य बुझ्न सक्ने क्षमताको कारणले सत्य प्राय जसो टुक्रा टुक्रामा विभक्त भएको हुने गर्छ । यो लगभग राम्ररी नसमात्दा खसेर फुटेको सिसाका टुक्राहरु जस्तो हुन्छ । यसैले सिंगो सत्य टुक्रिएर साना साना सत्यहरुमा बाडिन्छन् । जब सत्य टुक्रिएर छिन्न भिन्न हुन्छ, तब कसैले पनि थाहा पाउँन गाह्रो हुन्छ कि सिंगो सत्य नै आफुले थाहा पाएको हो वा त्यो कुनै सत्यको भाग मात्रै हो । ति सम्पुर्ण टुक्राहरु जोडिएर सिंगो सत्यका बारेमा थाहा नभए टुक्रा सत्यहरुले झन् झुठ फैलाउँछन्, अफवाह फैलाउँछन् ।
यहि कुरालाई ध्यानमा राखेर भनिएको हो, अल्पज्ञानम् भयंकरम् अर्थात आधा अधुरो ज्ञान डरलाग्दो हुन्छ । आधा अधुरो ज्ञानले घमण्ड बढाउँछ । जानकारी भएको भ्रम दिन्छ जसले झन् सत्यबाट विमुख गराउँछ ।
उदाहरणका लागि एउटा सन्दर्भ हेरौँ । दुई जना साथी थिए । एउटा साथीले कतैबाट पैसा चोरेर ल्याएको थाहा पाएर अर्को साथी रिसायो । रिसाएको साथीले आफ्नो साथीले चोरेको पैसा खोसेर जसको हो उसैलाई फिर्ता गरिदिने भन्ने सोच्यो । तर चोरेर ल्याएको साथीले प्रतिकार गर्यो । रिसाएको साथीले पिटपाट पारेर पैसा खोस्यो र जसको हो उसैलाई बुझाउँन हिड्यो । अब यो सन्दर्भलाई कसैले देख्यो । उसले दुईसाथीहरु बिचमा भएको सम्पुर्ण कुरा सुनेन तर यति मात्रै देख्यो कि रिसाएको एउटा साथीले अर्को साथीलाई पिटेर उसको पैसा खोसेर हिड्यो । यति थाहा पाउँनेले त पक्कै पनि रिसाउँने साथीलाई गलत देख्छ तर सत्य फरक हो ।
हुन त मानिसले गजबका साधनहरु बनाएको छ जसले टुक्रिएका सत्यहरुलाई जोड्छ र एउटा सत्य निकाल्छ तर अफवाहरुमा भर परेर सिंगो सत्य निकाल्न सकिदैन । सबै मानिसहरुसँग त्यस्ता साधन र स्रोतहरुसम्म पहुँच हुदैन ।
यसैले सत्य पत्ता लगाउँनु मानिसहरुको लागि सबै भन्दा कठिन कार्य हो किनभने देखिएका वा सुनिएका सबै कुराहरु सत्य नहुन सक्छन् । सत्य पत्ता लगाउँन हिडिएको बाटो र प्रयोग गरिएको साधनले सत्य पत्ता लगाउँछ भन्ने निश्चितता पनि हुदैन । त्यस्तै सत्य यति धेरै संवेदनशिल र जटिल हुन्छ कि यसका लागि असाध्यै बलियो धैर्यता, फराकिलो ज्ञानको आवश्यकता हुन्छ जुन सबैसँग हुदैन ।
त्यसमाथी सामान्य अवस्थामा आधाअधकल्चो सत्यले अफवाह मात्रै फैलाउँछ । अफवाहले सत्यलाई झन् कच्पल्ट्याउँछ । यसैले सत्य बोल्न, देख्न र बुझाउँन गाह्रो हुन्छ तर झुठ सजिलै पत्याइन्छ । झुठ पत्याउँनका लागि पुर्ण ज्ञान आवश्यक हुदैन । अझ त्यसमा तडकभडक थपिदिने हो भने सत्य परालमा लागेको आगो भन्दा चाँडो फैलन्छ ।