काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको पक्ष र विपक्ष दुवैतर्फका कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस नोट बुझाएका छन् ।
निवेदकको तर्फबाट ३६ वरिष्ठ अधिवक्तासहित २६२ जनाले बहस नोट पेस गरेका छन् । रिट निवेदकको तर्फबाट बहस नोट बुझाएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत आग्रहबाट प्रेरित भएर प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका छन् । यता निवेदकको विपक्षी एवम् सरकार पक्षले पनि बहस नोट बुझाएका छन् । उनीहरुले राष्ट्रपतिको निर्णयमाथि न्यायालयमा प्रश्न उठाउन नमिल्ने जिकिर गरेका छन् ।
यसैबीच रिट निवेदक पक्षले शुरुवाती बहस गर्ने समय आज (शुक्रबार) सकिंदै छ । संवैधानिक इजलासले निवेदक पक्षलाई अब बहसका लागि ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएको छ ।
इजलासको आदेश अनुसार निवेदकतर्फका कानुन व्यवसायीलाई आज ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । आज रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेललाई ३०/३० मिनेटको समय दिइँदैछ । यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यले २०/२० मिनेट बहस गर्दैछन् ।
अधिवक्ता टीकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट छुट्याइएको छ । अरु कानुन व्यवसायीहरुलाई न्यूनतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । अस्ती बुधबारदेखि शुरु भएको बहसमा निवेदकको तर्फबाट हिजोसम्म १४ कानुन व्यवसायीले बहस गरिसकेका छन् ।
आज रिट निवेदकको तर्फबाट कानुन व्यवसायीहरुको शुरुवाती बहस सकिएपछि आइतबारदेखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस शुरु हुने जनाइएको छ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । विपक्षी अर्थात सरकारी पक्षको शुरुवाती बहस सकिएपछि रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय तय गरिएको छ ।