जसपाले फेरि सोध्यो लुम्बिनीका चार मन्त्रीलाई स्पष्टीकरण, दियो पाँच दिन समय

by समतल अनलाइन
Shares

बुटवल। जनता समाजवादी पार्टी नेपाल (जसपा) ले लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका चार सांसदलाई फेरि स्पष्टिकरण सोधेको छ ।

पार्टीको ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको हो ।

केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले चारै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र पठाएर पाँच दिनभित्र वस्तुनिष्ट सन्तोषजनक स्पष्टीकरण लिखित रुपमा बुझाउन निर्देशन दिएको छ । नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि उल्लंघन गरेकाले कारवाहीका लागि केन्द्रीय समितिमा पत्राचार गरेको र केन्द्रीय समितिले स्पष्टीकरण सोधेको जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहषराम यादवले बताए ।

तोकिएको अवधिभित्र सन्तोषजनक स्पष्टीकरण नबुझाएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ (४र ५ ) तथा पार्टीको अन्तरिम विधान २०७७ धारा ४९ र ५० (१) वमोजिम आवश्यक कारवाही हुने पत्रमा उल्लेख छ ।

गत वैशाख १९ मा पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि कारबाही गरिएका उनीहरुलाई कारवाही गरी पदमुक्त गरिए पनि सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

You may also like

This will close in 0 seconds