नेपाल–खनाल पक्षलाई गोकुल बाँस्कोटाको चेतावनी : ‘लास्ट’ प्रयास, नत्र बाक्लो दाल खाऊ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे एकता प्रस्ताव ‘लास्ट’ भएकाले विचार गर्न माधव नेपाल पक्षलाई नेता गोकुल बाँस्कोटाले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आइतबार साँझ एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै नेपाल पक्ष समक्ष एकताका लागि ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।

यस विषयमा दुवै पक्षका नेताहरूले पक्ष र विपक्षमा प्रतिक्रियाहरु सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पूर्व सञ्चारमन्त्री एवं ओलीका विश्वासपात्र बाँस्कोटाले पछिल्लो एकताको प्रस्ताव अन्तिम भएको र यसमा सहमति नभए आ–आफ्नो बाटो लाग्नुपर्ने आशय व्यक्त गरेका छन् ।

‘अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलाई दुई–तीन मुठ्ठी सातुको बाटो खर्च साथ बिदा के गर्नु ! आफ्नै हुन माया लाग्छ,’ सोमबार बिहान बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काव्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बूढालाई पीरैपीरमा राख्ने भए । लास्ट प्रयास ! पारिवारिक मिलनको, नत्र बाक्लो दाल खाऊ ।’

 
 
  
 

You may also like