सर्वोच्च अदालतको आज ‘फुल कोर्ट’ बैठक बस्दै

काठमाडौं । सर्वाेच्च अदालतको आज (शुक्रबार) पूर्ण बैठक (फुल कोर्ट) बैठक बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आह्वानमा आज बिहान फुल कोर्ट बैठक बस्न लागेको हो ।

वैठकमा २० न्यायाधीश सहभागी हुनेछन् । बैठकका लागि दुई एजेण्डा तय गरिएको सर्वाेच्च अदालतको स्रोतले जानकारी दिएको छ । जसमा एउटा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि संकुचन गरिएको अदालतको सेवा सम्बन्धमा र अर्काे विविध एजेण्डा राखिएका छन् ।

विविधअन्तर्गत संवैधानिक इजलास पुनर्गठनका लागि नियमावली संशोधनबारे पनि छलफल हुने सम्भावना रहेको बताइएको छ । यस अघि जेठ १३ गते सर्वोच्च अदालतको फुल कोर्ट बैठक बसेको थियो । ‘फुल कोर्ट’को बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बुझिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो । बैठकले कोरोना भाइरस महामारीका कारण अत्यावश्यक बाहेकका कामकारबाही आज जेठ २१ सम्मका लागि संकुचन गरेको थियो ।

 
 
  
 

You may also like