काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो, के–के गर्न पाइन्छ ?

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज (शुक्रबार) देखि केही खुकुलो भएको छ । एक हप्तासम्म खाद्यान्नका पसल समेत बन्द गर्ने गरी भएको निषेधाज्ञा गए राति १२ बजेपछि केही खुकुलो बनाउँदै जेठ मसान्तसम्म लम्ब्याइएको हो । काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएकोमा जेठ १४ गतेदेखि आवतजावत र पसल सञ्चालनमा थप कडाइ गरिएको थियो ।

आजदेखि खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ । यस्तै निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चलाउन पाइने छ । गाडी मर्मत गर्ने वर्कसपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

शैक्षिक संस्था, सार्वजनिक निजी गाडी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ । घरमै वा बसेको ठाउँमा ७ जनासम्म जम्मा भई विवाह व्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरी कृषिको काम गर्न छुट दिइएको छ ।

अत्यावश्यक बाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले प्रधान कार्यालय बाहेक काठमाडौंमा तीन वटा शाखा कार्यालय मात्र खोल्न पाउने छन् । औषधि तथा खाद्यान्न जस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।

यसैबीच बाजुरामा पनि जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । यस्तै रुपन्देहीमा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर बेलुकी ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था गरेर निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । यस्तै झापामा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप भएको छ । हप्तामा दुई दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्न पाउने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । अहिले खोटाङ र मनाङ बाहेक ७५ वटा जिल्लामा निषेधाज्ञा छ ।

 
 
  
 

You may also like