काठमाडौं। एकता र विभाजनको दुबै सम्भावना देखिइरहेका बेला आज (बिहीबार) नेकपा एमाले केपी शर्मा ओली र माधवकुमार नेपाल–झलनाख खनाथ दुवै पक्षले छुट्टाछुट्टै बैठक बोलाएको छ ।
ओली पक्षले स्थायी कमिटी र नेपाल–खनाल पक्षले आज केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन् । हिजो दिउँसो ४ बजेका लागि बोलाइएको संस्थापन पक्ष (ओली पक्ष) को स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
अस्ती मंगलबार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो । यस्तै नेकपा एमालेको खनाल–नेपाल समूहले बिहान ११ बजेका लागि आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको खनाल–नेपाल समूहका नेताहरुले बताएका छन् । २०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनेबारे दुवै पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले छलफल गरिरहेको समयमा खनाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् ।