पार्टी बचाउन रामचन्द्र पौडेलले दिए दुई विकल्प, देउवाले फर्काए यस्तो जवाफ

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पार्टी बचाउने विकल्प साँघुरिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसमा निर्धारित (भदौं ७ –१० ) मितिभित्र पार्टीको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने भन्नेबारे औपचारिक बहस प्रवेश भएको छ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले विषम परिस्थितिमा महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका हुन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसका सन्दर्भमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान समयमा पार्टी बचाउन दुई विकल्प मात्र बाँकी रहेको जिकिर गरेका छन् । नेता पौडेलले उपलब्ध क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि तय गर्दै तल्लो तहबाट अधिवेशन गरेर तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

त्यो गर्न नसकिए अर्को एक वर्षका लागि नयाँ समिति निर्वाचित गरेर भए पनि पार्टी जोगाउनु पर्ने सुझाव पौडेलको छ । यसका लागि १३ औं महाधिवेशनकै प्रतिनिधिहरुलाई प्रयोग गर्नु सकिने उनको भनाइ थियो । कांग्रेसले देशमा एकसाथ तीन वटा लडाइँ लडिरहेको भन्दै पौडेलले भने, ‘पहिलो दायित्व कोरोनाबाट जनता बचाउनु हो, दोस्रो संविधान बचाउने जिम्मा पनि कांग्रेसको काँधमा छ । महाधिवेशन हुन नसकेर पार्टी संकटमा परेको छ, पार्टी बचाउनु तेस्रो महत्वपूर्ण जिम्मेवारी हो ।’ देशलाई विकल्प चाहिएको भन्दै नेता पौडेलले चुनावमा जाने परिस्थिति कतै नदेखिएको तर्क गर्दै भने, ‘लोकतान्त्रीक अभ्यास हो भनेर चुनावी घोषणा गर्ने तर महामारीलाई कारण देखाएर चुनाव सार्ने अवस्थामा सरकार पुग्छ, त्यो अवस्थाबाट पार पाउनका लागि हामी सर्वोच्च गएका हौं ।’

कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले जनताले कांग्रेसलाई विपक्षमा बस्न जनादेश दिएको भए पनि कम्युनिष्टहरुले सत्ता चलाउन नसकेपछि मात्र सरकारको दावी गर्नुपरेको प्रष्टीकरण दिए । शर्माले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि कांग्रेसले सरकार बनाउन पहल गरेको हो । यद्यपि, यो प्रक्रियाको अग्रसरता लिनुपरेको हामी क्षमा चाहन्छौं ।’

संविधानको धारा ७६ को उपधारा ५ दलहरु सरकार बनाउन विफल भएका एक व्यक्ति–सांसदले सरकार बनाउन आवश्यक बहुमत जुटाउन सक्छ भने अवसर दिने विकल्प भएकाले निर्दलीय अभ्यासमा कांग्रेस गएको भन्ने तर्क गर्न नमिल्ने पनि बताए । बरु सरकार बनाउन गरिएको बहुमतको दावीलाई लत्याउने आधार र प्रमाण राष्ट्रपतिसँग के थियो भन्ने प्रश्न उठेको उनको भनाइ थियो । ‘म समयमै महाधिवेशन गर्न तयार छु । पुराना प्रतिनिधिबाट महाधिवेशन गर्दा नयाँ रिसाउँछन् । विकल्पबारे हामी बसेर कसरी हुन्छ छलफल गरौं,’ देउवाले भने ।

यस्तै नेता पौडेलले पार्टी नेतृत्वले महाधिवेशन गराउन नचाहेको आशय प्रकट गरेकोमा पनि देउवाले जवाफ दिएका छन् । ‘महाधिवेशन गर्ने पक्षमा म पनि छु । कसरी गर्ने तपाईंहरू भन्नुस् न । कोभिड आइदियो त के गर्ने ? यस्तो बेला भेला गरेर मानिस मर्न सक्छन् । कसरी महाधिवेशन गर्ने सरसल्लाह गरौं । म तयार नै छु,’ देउवाको भनाइ थियो ।

उनले आफ्नो प्रजातन्त्रप्रतिको निष्ठामाथि प्रश्न नउठाउन पनि नेता पौडेललाई आग्रह गरेका थिए । देउवाले भने, ‘म प्रजातन्त्रका लागि लडेको हो । म प्रजातन्त्रकाविरुद्ध जान्छु होला ? म पनि तपाईंसँगै जेलमा परेको मान्छे हो ।’

देउवाले महाधिवेशन नगरेर आफू कलंकको टीका नलगाउने पक्षमा रहेको बताए । देउवाले भने, ‘कुनै किसिमको अधिवेशन शेरबहादुरले गरेन भनेर कलंक म कुनै हालतमा टाउकोमा राख्न चाहन्न ।’ देउवाले प्रविधिबाट पनि महाधिवेशन गराउन सकिने बताएका थिए । ‘प्रविधि प्रयोग गर्न सकिन्छ भन्ने छ । अनलाइनबाट नै महाधिवेशन गर्न सकिन्छ भन्ने पनि छ । विकल्प खोज्ने हो, छलफल गर्ने हो । जुन विकल्पमा जान पनि सकिन्छ, जाऔंला,’ देउवाले भने ।

 
 
  
 

You may also like