गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु

बुटवल। पाँच दिनअघि गोली प्रहारबाट गम्भीर घाइते माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।

अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

पाण्डे र एक भारतीय नागरिकमाथि बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो ।

प्रहरीले उनीहरुमाथि आक्रमण गरेको आरोपमा २ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् । पाखुरामा एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य रहेको र उनी उपचारपछि घर फर्केका छन् । व्यक्तिगत रिसिइबीका कारण पाण्डेमाथि गोली चलाएको अभियुक्तले बयान दिएको डीएसपी भण्डारीले बताए ।

 
 
  
 

You may also like