कोरोनाबाट पाल्पामा ६ जनाको मृत्यु

पाल्पा । कोरोना भाइरस संक्रमणबाट पाल्पामा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान दुई जनाको र बिहीबार राति चार जनाको ज्यान गएको हो ।

शुक्रबार बिहान तानसेन नगरपालिका–३, भगवती टोलका ५६ वर्षीय पुरुषको मिसन अस्पतालमा र ५२ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

बिहीबार तानसेन नगरपालिका–१ की ८१ वर्षीया महिलाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेजमा उपचाररत रैनादेवी छहरा गाउँपालिकाको सर्देवास्थित सिजी कम्पनीमा कार्यरत एक जना भारतीय पुरुषको मृत्यु भएको छ ।

यस्तै तिनाउ गाउँपालिका–३ का एक शिक्षकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्याङ्जा स्थायी घर भइ पाल्पाको माथागढी गाउँपालिका–३ सराईमा डेरा गरी बस्ने २५ वर्षीया महिलाको समेत बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 
 
  
 

You may also like