आफैं भिड जम्मा गर्ने सरकारले उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद : नेता पुन

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको भनाइ छ ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व ऊर्जामन्त्री समेत रहेका नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद कुरा भएको आरोप लगाए ।

‘आफैं लापरबाही गरेर, हजारौं हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा हो,’ उनले भने, ‘यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्य उपचार, चेकजाँच र परीक्षणमा ध्यान दिनुपर्छ ।’

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए । सरकारले अन्य राजनीतिक दल र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जबरजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै उनले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग समेत गरे ।

 
 
  
 

You may also like