सरकार ढाल्ने खेलको प्रतिवाद गरौं : ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रनुपर्ने बताएका छन् ।आज (शनिबार) काठमाडौंमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् । जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्यविरुद्ध प्रतिवाद गर्नुपर्ने उनले बताएका छन् ।

निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने उनले बताए । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमी कजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्त सिर्जना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।

उनले भने, ‘राजनैतिक अस्थिरता भइरह्यो भने, सरकार ढाल्ने खेल भयो भने । सरकार त ५ बर्षका लागि आएको हो निर्वाचित भएर । सधै बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन् । राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि । तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ ।’

उनले थपे, ‘विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल सिर्जना हुन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखा पर्न खोज्दैछ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निराशा फैलाउने र अस्तव्यस्त सिर्जना गर्ने प्रयास भयो भने यो राम्रो हुँदैन ।’

 

 
 
  
 

You may also like