वीरगञ्ज नर्सिङ क्याम्पसका २२ छात्रालाई कोरोना संक्रमण

by समतल अनलाइन
169Shares

पर्सा, १ बैसाख । वीरगञ्जको बिर्तास्थित चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रालाई कोरोना संक्रमण भएको छ ।

हिजो (मंगलबार) सम्म नर्सिङ कलेजका २२ जना छात्रालाई कोरोना पुष्टि भइसकेको नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासले जानकारी दिएका छन् । ‘शुरुमा एक छात्रा, त्यसपछि १५ र ६ जना गरी मंगलबारसम्म २२ छात्रामा कोरोना पुष्टि भइसकेको छ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गरिएको छ, संक्रमितको संख्या अझै बढन पनि सक्छ ।’

डा. दासका अनुसार, जिल्लामा आइतबारदेखि मंगलबारसम्म तीन दिनमा मात्रै ९६ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको नतिजाअनुसार, आइतबार ६० जनाको स्वाब परीक्षण गर्दा २८ जना, सोमबार ९५ जनाको स्वाब परीक्षण गर्दा ४० जना र मंगलबार ७९ जनाको स्वाब परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको थियो ।

बुधबार सार्वजनिक बिदा रहेकाले अस्पतालको प्रयोगशाला बन्द रहेको छ । यस बाहेक यहाँस्थित नेपाल–भारत सीमामा गरिएको परीक्षणबाट बुधबारसम्ममा गरी १० जना कोरोना संक्रमित फेला परिसकेका छन् ।

You may also like