विकास खर्च २९.२२ प्रतिशत मात्र

काठमाडौं। सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको यसबाट प्रस्ट देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७–७८ को ९ महिने अवधिमा ३० चैतसम्म कुल १ खर्ब ३ अर्ब १२ करोड ९४ लाखमात्र पुँजीगत खर्च भएको हो ।

चालू आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख पुँजीगत खर्च विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि कुल विनियोजत पुँजीगत खर्चको लक्ष्य भेटाउन अझै २ खर्ब ४९ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । पुँजीगतमध्ये अहिलेसम्म २९.२२ प्रतिशत पुँजीगत खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न तीन महिनाभित्र ७०.७८ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । यो लक्ष्य भेटाउन अब सरकारले दैनिक अर्बाैं पुँजीगत खर्च गर्दै जानुपर्ने देखिन्छ ।

कोरोना महामारी प्रभाव र पछिल्लो समय उत्पन्न राजनीतिक अस्थिरताका कारण आर्थिक गतिविधिमा संकुचन आएसँगै चालू आवको बितेका ९ महिना पुँजीगत खर्च अत्यन्त न्यून देखिएको हो । कोरोना प्रभावका कारण विगत वर्षजस्तो विकास निर्माणका कामले गति लिन नसक्दा पुँजीगत खर्च कम भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

पुँजीगत खर्च वितरणको तालुकदार निकाय अर्थ मन्त्रालयले चालू आवमा कोरोना प्रभावले अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको स्वीकारेको छ । अन्य वर्षमा समेत खासै प्रभावकारी ढंगबाट हुन नसकेको पुँजीगत खर्च यसवर्ष अझ कोरोना प्रभावका कारण थप घट्न गएको अर्थ मन्त्रालयको भनाइ छ ।

कोरोना महामारीका कारण राष्ट्रिय गौरवका र ठूलासाना आयोजना निर्माणमा समस्या आएको छ । आयोजनास्थलमा पुग्नुपर्ने कामदार–श्रमिक लामो समय फर्किन पाएनन् । भनेकै बेला निर्माण सामान नपाइनु, दक्ष प्राविधिक ल्याउन ढिलाइलगायत कारण राष्ट्रिय गौरवका आयोजना अपेक्षाकृत हुन सकेको छैन । विविध समस्याकै कारण अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको महालेखा नियन्त्रक कार्यालयको ठहर छ ।

कार्यालयका अनुसार विशेषतः आर्थिक रूपान्तरणको मूल आधार मानिने पुँजीगत खर्च नै हो । अपेक्षाकृत पुँजीगत खर्च हुन नसक्दा विकास निर्माणमा देशले चाहेजस्तो गति लिन सकेको छैन । कोरोना प्रभावकै कारण गत आर्थिक वर्षमा कुल १ खर्ब ९१ अर्ब ७७ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो । सरकारले चालू आर्थिक वर्ष सो अवधिमा ६ खर्ब ८६ अर्ब ६६ करोड ४७ लाख खर्च गरेको छ । यो रकम चालू आवका लागि कुल विनियोजित बजेटको जम्मा ४६.५६ प्रतिशत मात्र खर्च हो । राजधानी दैनिकबाट

 
 
  
 

You may also like