झापा । दमक– ७ स्थित सुकुम्बासी बस्ती पञ्चमुखी टोलकी धनमाया विश्वकर्मा शनिबार राति सुत्ने तरखरमा थिइन् । उनका लागि ओत लाग्ने छानो आकाश र सुत्नका लागि धरतीको डसना थियो । खुला आकाश उनको वासस्थान बनेको दुई दिन भयो ।
बिहीबार उनको परिवार हाँसीखुसी सुतेको थियो । शुक्रबार बिहान दमक नगरपालिकाको डोजरले घर भत्काइदिएपछि उनी घरविहीन छिन् । सुकुम्बासी बस्तीमा घर बनाएर बसेको २० वर्षपछि उनी सडकमा आइपुगिन् ।
सुकुम्बासी बस्तीमा रहेको छाप्रोमा नगरपालिकाले डोजर चलायो । डोजरले उनीहरूको परिवार मात्र चिल्लबिल्ल बनाएन, नगरपालिकाले लुगाफाटा र पकाउने सबै सामग्री लगिदियो । ‘भएको सबै लगिदियो । त्यसैले त आकाशलाई छानो बनाएर सुतेको छु । म्याट ओछ्याएर निदाउने कोशिस गर्दैछु,’ शनिबार राति ९ बजे नयाँ पत्रिकासँग धनमायाले भनिन्, ‘पकाएर खान भाँडाकुँडा लगिदियो । छिमेकीले दुई छाक त ल्याएर खुवाए । अब के खाने ?’
धनमायाका श्रीमान् गत वर्ष बिते । परिवार चलाउने जिम्मा उनकै काँधमा छ । उनी मुटुकी रोगी हुन् । केही समयअघि मात्र शल्यक्रिया गरेकी उनको चिकित्सकका अनुसार ‘आराम’ को समय हो । तर, बस्ने आधार नै नगरपालिकाले उठाइदियो । घर भत्काएर टिन र भाटा छरपस्ट छन् । धनमाया शनिबार दिनभर टोलाइन् । उनको दिमागमा एउटै प्रश्न छ– अब के गर्ने ?
घरमा रहेका दराज, खाट सबै फालिदिएका छन्, सुरक्षाकर्मीले । ‘विधुवा भत्ता थापेको आठ हजार थियो । त्यो बाकस पनि पुलिसले लगेर गए,’ उनी भन्छिन्, ‘त्यो पैसा कहाँ लगे होलान् ?’ पञ्चमुखी टोलमा नगरपालिकाले शनिबार सात घर भत्कायो र घरभित्र भएका सबै सामान लगिदियो । लत्ताकपडा, ओड्ने–ओछ्याउने, भएका खाद्यसामग्री सबै लगिदियो । उनीहरू अहिले एकसरो लुगामा मात्र छन् । ‘लगाएको लुगा मात्र छ । यो पनि घर भत्काउन नदिन खोज्दा च्यातिएको छ,’ सुकुम्बासी बलबहादुर विश्वकर्माले गुनासो गरे, ‘अरू कहाँ लग्यो–लग्यो थाहा छैन । पानी खान कल पनि राखिदिएनन्, सबै उखालिदियो ।’
दुई दशकदेखि यहाँ बसेका सुकुम्बासीलाई नगरपालिकाले विकल्प नै नदिई घर भत्काइदियो । ‘कहीँ केही छैन कहाँ जाने त ? त्रिपाल टाँगेर बस्न पैसा छैन,’ सुकुम्बासी बालकुमार राई भन्छन्, ‘नगरपालिकाले हामीलाई हेप्यो । सुकुम्बासीलाई जे गरे पनि हुन्छ भन्ने सोच्यो ।’
हाटखोला क्षेत्रका १५ घर सुकुम्बासीलाई हट्न नगरपालिकाले उर्दी जारी गरेको थियो । तर, पञ्चमुखीका सुकुम्बासीलाई जानकारी पनि थिएन । हाटखोलाका सुकुम्बासीले आफ्नो व्यवस्था मिलाएर दशकौँ बिताएको घर छाडेर हिँडे । त्यही घरमा नगरले डोजर चलायो । तर, पञ्चमुखीका सुकुम्बासीले घर भत्कँदै छ भन्ने सुइँको समेत पाएका थिएनन् । खाना खाने वेलामा आएको सयौँको संख्याको प्रहरीसहितको डोजरले खान खान नदिई धमाधम घर भत्कायो ।
अन्नपात पनि नगरपालिकाले लगिदिएपछि उनीहरू साँझ–बिहान कसरी छाक टार्ने भन्ने समस्यामा छन् । ‘कसैले त्रिपाल दिए पनि त्यहीँ सुत्थ्यौँ,’ बलबहादुर भन्छन्, ‘खानालाई एक गेडो चामल छैन । अहिलेसम्म त छिमेकीले दिएका छन् । उनीहरूले पनि सधैँ त दिन सक्दैनन् ।’
छिमेकीले केही चामल र दाल दिएका छन् । उनीहरूले च्यातिएको त्रिपाल टाँगेर खाना पकाउने ठाउँ बनाएका छन् । घरविहीन बनेका सात परिवार सामूहिक खाना खान्छन् । खुला आकाशमुनि सुत्नुपरेको हैन अब कसरी जीवन चलाउने भन्ने चिन्ताले रातभर निदाउन दिँदैन । ‘निदाइन्छ कि भनेर आँखा चिम्लन्छु । तर, रातभर निद्रा आउँदैन,’ सुकुम्बासी राम सम्बाहाम्फे भन्छन्, ‘केटाकेटीको भविष्यको चिन्ताले सताउँछ । भएको घर भत्कायो अब कसरी घर बनाउने भन्ने चिन्ता उस्तै छ ।’
खुला आकाशमुनि सुत्दाका उनीहरूका पीडा धेरै छन् । ‘रातभर लामखुट्टेले टोकेर सुत्न सकिँदैन,’ विमला विश्वकर्मा भन्छिन्, ‘त्योभन्दा पनि पीरले निद्रै लाग्दैन । यहाँ हाम्रो घर मात्र भत्किएन, भविष्य पनि भत्कियो ।’ सातै घरका सुकुम्बासी एकै ठाउँ सुत्छन् । उनीहरूले महिला एकतिर र पुरुष अर्कोतिर सुत्ने व्यवस्था मिलाएका छन् । ‘हाम्रो सुताइ त यस्तै छ । खुला आकाशमुनि सुतेका छौँ । ओड्ने र ओछ्याउने केही छैन,’ विमला भन्छिन्, ‘धन्न ! साना केटाकेटीलाई छिमेकीले सुत्ने ठाउँ दिएका छन् । कति दिन अर्काले सहयोग गर्छन् ?’
शनिबार राति भत्किएको टोलछेउको सडकको पेटीमा एक युवा घोत्लिरहेको देखिए । उनले आफ्नो परिचय दिए– मनीष बराइली । घर कहाँ ? उनको उत्तर थियो– घर कहाँ भनौँ, नगरपालिकाले भत्काइदियो । उज्यालोमा आउनुहोला ठाउँ देखाइदिन्छु ।’ मनीष मात्र होइन हाटखोलाका १५ र पञ्चमुखी टोलका सात परिवारको हालत यस्तै छ ।
सुकुम्बासीलाई उठीवास लगाएर दमक नगरपालिकाले त्यहाँ सपिङ कम्प्लेक्स बनाउँदै छ । हाटखोलामा ४० करोडको साततले सपिङ कम्प्लेक्स बनाउने डिपिआर तयार भएको छ । पञ्चमुखी टोलमा पनि सपिङ कम्प्लेक्स नै बनाउने निश्चित भएको दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली बताउँछन् ।
यो नगर प्रधानमन्त्री केपी ओलीको गृहनगर हो । नगरका मेयर पनि साइनोले उनका भतिजा हुन् । उनले केही निर्णय गर्नुपर्दा प्रधानमन्त्री ओलीसँग परामर्श गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीले १६ फागुनमा सुकुम्बासीका लागि सरकारले काम गरेको दाबी गरेका थिए । घर नभएका सुकुम्बासीलाई घर दिएर सरकारले घरविहीन हुन नदिएको दाबी गरेका थिए । तर, उनकै गृहनगरका सुकुम्बासीको भएको घर पनि भत्काएर नगरपालिकाले प्रधानमन्त्री ओलीको उद्घोषको धज्जी उडाएको छ ।
चुनावका वेलामा नेताले ‘भोट बैंक’ बनाएका सुकुम्बासी अहिले सहरको ‘कुरूप’ भएका छन् । ‘हामीलाई तिमीहरूको समस्या समाधान गर्छौँ भनेर आश्वासन दिँदै भोट मागे । हाम्रै भोटले प्रधानमन्त्री पनि भए,’ सुकुम्बासी राम सम्बाहाम्फे भन्छन्, ‘अहिले हामीलाई नै घरबाट निकाले । अब फेरि चुनावमा हामीलाई नै लड्डु देखाएर भोट माग्न आउँछन् ।’
तर, मेयर ओली भने त्यहाँका कोही पनि सुकुम्बासी नभएको दाबी गर्छन् । ‘सुकुम्बासीलाई त नगरपालिकाले गत साल नै घर दियो,’ उनी भन्छन्, ‘उनीहरू सुकुम्बासी होइनन् । घर जान्छन् नि !’
घर भत्काएपछि सुकुम्बासी बालबालिकाको बिजोग भएको छ । आफ्नो घर किन भत्कियो भनेर थाहा समेत नपाएका बालबालिकाले न समयमा खान पाएका छन् न त राम्रो ओछ्यानमा सुत्न नै पाएका छन् । ‘केटाकेटीले खान माग्छन् । हामीले के दिने ? सबै नगरपालिकाले लगिदियो,’ सुकुम्बासी ठगमाया राई भन्छिन्, ‘रातभर सुत्न सकेका छैनन् । हाम्रो घर किन भत्कियो भनेर सोध्छन्, हामीले के उत्तर दिने ?’
बालबालिकाको विद्यालय लागिरहेको छ । तर, उनीहरूको पोसाक, किताब कहाँ छन् थाहा छैन । ‘अब केटाकेटीलाई कसरी स्कुल पठाउने ? उनीहरूको किताब कहाँ पुग्यो,’ सुकुम्बासी मुना सम्बाहाम्फे भन्छिन्, ‘केटाकेटीको स्कुल पनि बिग्रिने भयो । नगरपालिकाले नानीहरूका लागि त सोच्नुपर्छ नि !’
सुकुम्बासी बस्तीमा नगरपालिकाले डोजर चलाएपछि नेकपा माओवादी केन्द्र दमक नगर समितिले आपत्ति जनाएको छ । सुकुम्बासी र भूमिहीनको नारा लिएको कम्युनिस्ट सरकारले सुकुम्बासीमाथि प्रहार गरेको भन्दै माओवादी केन्द्रले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो । नयाँ पत्रिका दैनिकबाट