नामको अगाडि कानुनविपरीत ‘डाक्टर’ लेख्नेलाई १५ दिनको अल्टिमेटम, नियम मिचे ३ वर्ष कैद

by समतल अनलाइन
48Shares

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले आफ्नो नामको अगाडि कानुनविपरीत रूपमा ‘डाक्टर’ (डा) शब्द प्रयोग गर्नेहरूलाई १५ दिनभित्र सो शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गरिरहेको पाइएकाले यस्तो कडा कदम चालिएको हो।

काउन्सिलमा दर्ता भएका चिकित्सक र आफ्नो विधागत परिषद् ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेका बाहेक अन्य कसैले पनि नामको अगाडि यो शब्द प्रयोग गर्न नपाउने काउन्सिलले स्पष्ट पारेको छ।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० बमोजिम नेपालमा आधुनिक चिकित्सा प्रणालीअन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिने र नामको अगाडि डाक्टर वा चिकित्सक पद प्रयोग गर्ने कानुनी अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र निहित छ। त्यसैले आधिकारिक कागजपत्र, प्रेस्क्रिप्सन प्याड, क्लिनिकको साइनबोर्ड, भिजिटिङ कार्ड तथा सबै सामाजिक सञ्जालहरूबाट त्यस्ता अवैध शब्द तत्काल हटाउन निर्देशन दिइएको छ।

यदि यो निर्देशन पालना नगरेर आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा काउन्सिलको ऐनबमोजिम तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

यसैगरी काउन्सिलले स्वदेश वा विदेशका विभिन्न विश्वविद्यालयबाट प्रमाणपत्रमा ‘डाक्टर’ शब्द उल्लेख भई शैक्षिक उपाधि (जस्तै: पीएचडी) प्राप्त गर्दैमा स्वतन्त्र रूपमा चिकित्सीय अभ्यास (बिरामी जाँच्ने वा उपचार गर्ने) गर्ने अनुमति स्वतः प्राप्त नहुने कुरा समेत प्रस्ट पारेको छ। चिकित्सा अभ्यासका लागि काउन्सिलमा दर्ता हुनु अनिवार्य शर्त रहेको छ।

You may also like