राष्ट्रिय टोलीदेखि ग्रासरुटसम्म : बसन्त गौचनको नयाँ ‘मिशन’

by समतल अनलाइन
43Shares

बुटवल । बसन्त गौचन ले खेलाडी जीवनमा जति चर्चा कमाए, अहिले त्यति नै ऊर्जा उनी नयाँ पुस्ता उत्पादनमा खर्चिरहेका छन्। राष्ट्रिय टोलीको जर्सीबाट मैदानमा पहिचान बनाएका गौचन अहिले भने मैदानबाहिर प्रशिक्षकको भूमिकामा भविष्यका फुटबलर तयार पार्ने अभियानमा जुटेका छन्।

काठमाडौँमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनपछि चर्चामा आएका गौचनले खेल जीवनपछि पनि फुटबललाई नछोड्ने निर्णय गरे। त्यसैको निरन्तरता स्वरूप उनले पाँच वर्षअघि पोखरामा बसन्त गौचन फुटबल एकेडेमी स्थापना गरे। अहिले त्यो अभियान पोखरा र काठमाडौं हुँदै बुटवलसम्म विस्तार भएको छ।

गौचनका अनुसार फुटबलप्रति बालबालिकाको आकर्षण बढ्दै गए पनि व्यवस्थित प्रशिक्षणको अभाव अझै ठूलो चुनौती बनेको छ। यही आवश्यकता महसुस गर्दै उनले बुटवलमा तेस्रो शाखा सञ्चालनमा ल्याएका हुन्। उनका लागि यो केवल एकेडेमी विस्तार होइन, नयाँ प्रतिभा खोज्ने दीर्घकालीन योजना हो।

बुटवल शाखामा ओम काउचा मगर समेत सक्रिय रूपमा जोडिएका छन्। जापानमा फुटबल प्रशिक्षण अनुभव बटुलेर फर्किएका मगरले बुटवलको पुरानो फुटबल संस्कृति पुनर्जीवित गर्न एकेडेमी महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अहिले विभिन्न स्थानीय क्लब र प्रशिक्षकलाई एउटै प्लेटफर्ममा ल्याएर सामूहिक रूपमा फुटबल विकासमा काम भइरहेको छ।

एकेडेमी सञ्चालनमा लखन बडर्श युथ क्लब, सौभाग्य युवा क्लब, सयपत्री युवा क्लब र बिस पहत्तर युवा क्लबजस्ता स्थानीय संस्थाको समेत सहकार्य रहेको छ। यसले बुटवलमा फुटबलप्रति नयाँ उत्साह सिर्जना गरेको बताइएको छ।

गौचनले जापानमा रहँदा फनरुट्स फुटबल एकेडेमी मा प्रशिक्षकको अनुभव समेत हासिल गरेका थिए। उक्त एकेडेमी जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग आबद्ध रहेकाले अन्तर्राष्ट्रिय फुटबल प्रणालीको अनुभव उनले नेपालमा प्रयोग गर्न खोजिरहेका छन्।

हाल बुटवल शाखामा तीन प्रशिक्षकमार्फत हप्तामा चार दिन प्रशिक्षण सञ्चालन भइरहेको छ। बिहान र साँझ नियमित अभ्यासको व्यवस्था गरिएको एकेडेमीले अनुशासन, फिटनेस र आधारभूत सीप विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।

You may also like