पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेश राज्यस्थित सिद्धार्थनगर जिल्ला, नौगढ गाउँको जगदिसपुर निवासी २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेका हुन्।
उनी आफ्ना साथीहरूसँग घुम्न नेपाल आएका थिए। बुधबार साँझ करिब साढे ६ बजे पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोला ड्याममा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजी कार्य सुरु गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले खोजी जारी राखेका क्रममा बिहीबार बिहान घटनास्थलबाट करिब ५० मिटर तल उनको शव फेला परेको हो।
तिनाउ नदीमा ढुंगाको खोँचमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।








