बाँके। बाँकेको नरैनापुरमा भीषण आगलागी हुँदा सयभन्दा धेरै घर–गोठ जलेका छन् । नरैनापुर गाउँपालिका–४ खोदावामा शनिबार आगलागी हुँदा १२० भन्दा धेरै घर–गोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । दिउँसो लागेको आगो साँझ मात्र नियन्त्रणमा आएको छ ।
नरैनापुर, नेपालगन्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकलसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका हुन् । आगलागीमा तीन जना घाइते भएका छन् । घाइते तीनै जना महिला हुन् । उनीहरूको उपचार नेपालगन्जमा भइरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहित सुरक्षा निकायको टोली घटनास्थल पुगेको छ । आगलागीपीडितलाई अहिले राहत वितरण भइरहेको एसपी रानाले बताए। रातिका लागि पाल र खाना व्यवस्था भइरहेको छ । आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका थप प्याकेज ल्याउने तयारी प्रशासनको छ । खरले छाएका र आपसमा जोडिएका घर–गोठ तथा तीव्र हावाहुरीका कारण आगलागीबाट धेरै क्षति भएको प्रहरीले जनाएको छ ।