असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ : भुसाल

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि संसारमा चाकर र शत्रु बाहेक कोही नभएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेकपा–एमालेबाट ६ महिनाका लागि निलम्बन गर्ने कारबाही सुनाएपछि एमाले उपमहासचिव घनश्याम भुसालले यस्तो प्रतिक्रिया जनाएका हुन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले ओली अध्यक्ष भएर गरेका बर्बादीका लागि माफी समेत मागेका छन् ।

यस्तो छ स्टाटस
असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।

उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौंला–गर्नेछौं । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।

 

 
 
  
 

You may also like