बालगृह सञ्चालकबाटै १४ वर्षीया किशोरी पटक–पटक बलात्कृत

दाङ । दाङस्थित बालगृहमा बस्दै आएकी बालिकामाथि सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको छ । तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि बलात्कार गर्दै आएको आरोप लागेको हो

बालगृहमा बस्दै आएकी जुम्लाकी १४ वर्षीया बालिकाले आफूलाई चौधरीले ६ महिनादेखि पटक–पटक बलात्कार गरेको भन्दै प्रहरीमा बिहीबार जाहेरी दिएकी छन् । जाहेरीपछि चौधरीको खोजी भइरहेको दाङ प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

बालगृहमा रहेका बालबालिका जोखिममा रहेको पाइएपछि स्थानान्तरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । ‘बालबालिकालाई तुलसीपुर उपमहानगरसँग समन्वय गरेर सुरक्षित स्थानमा राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘बालगृहमा समस्या देखिएपछि अन्यत्र स्थानान्तरण गरेर सुरक्षित गराउन थालिएको हो ।’

बालगृहमा ९ बालक र ७ बालिका बस्दै आएका थिए । तीमध्ये पीडित बालिकालाई छुट्टै ‘सेफ हाउस’ मा राखेर मनोपरामर्श तथा उपचार गरिएको छ । ३१ वर्षीय चौधरी २०६५ चैत १५ मा बिजौरीमै भएको अर्को एक सामुहिक बलात्कार मुद्दामा दोषी ठहर भएका थिए ।

उनी २०७५ माघ ३ मा पक्राउ परी ८८ दिन जेल बसेर छुटेका थिए । उनी त्यतिबेला पुनरावलोकनको निवेदन दिएर छुटेका थिए । सर्वोच्च अदालतले २०७२ फागुन ३० मा ९ वर्ष ११ महिना २ दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

 
 
  
 

You may also like