बंगलादेशमा मोदीको भ्रमणविरुद्ध प्रदर्शन, कम्तिमा चार जनाको मृत्यु

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको तीव्र बिरोध भएको छ । बिरोध प्रदर्शनका क्रममा बंगलादेशमा कम्तिमा पनि चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बंगलादेश भ्रमणमा गएका हुन् । मोदीको भ्रमणको विरोधमा प्रदर्शन सुरु भएपछि प्रहरीले गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको हो । झडपमा परेर पत्रकारसहित कयौं प्रदर्शनकारी घाइते भएका छन् ।

मोदीको भ्रमणको विरोधमा स्थानीय हात्जारी मदरसाबाट जुलुस निस्किएको थियो । जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि शुक्रबार ढाका पुगेका छन् । मोदी बंगलादेशको ५० औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ । एजेन्सी

 

 
 
  
 

You may also like