रेशम चौधरी रिहाइका लागि उनकै संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली

काठमाडौं । निलम्बित सांसद रेशम चौधरीलगायत राजबन्दी रिहाइका लागि सरकारसँग वार्ता गर्न थरुहट–थारुवान राष्ट्रिय मोर्चाले उनकै संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

टीकापुर काण्डमा जन्मकैद सजाय सुनाइएपछि हाल डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरिएको हो । अर्धभूमिगत रहेका मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले शुक्रबार कैलालीमा पत्रकार सम्मेलन गरी टीकापुर राजबन्दीका तर्फबाट वार्ता टोली गठन गरिएको जानकारी दिएका हुन् ।

टीकापुर घटना राजनीतिक मुद्दा भएकाले यसका कारण जेलमा हालिएका कैदीबन्दीलाई निःसर्त तुरुन्त रिहाइका लागि सरकारसँग वार्ता गर्न टोली गठन गरिएको मोर्चाले जनाएको छ । मोर्चाका अनुसार टीकापुर काण्डमा रेशम चौधरीलगायत ७ जनालाई उच्च अदालत (दिपायल) ले जन्मकैदको फैलसा गरेको छ ।

सत्ता समीकरणमा निर्णायक देखिएको जनता समाजवादी पार्टीले रेशम चौधरीको रिहाइलाई पनि यतिबेला मुख्य राजनीतिक मुद्दा बनाइरहेको छ । यहीबीच थरुहट–थारूवान राष्ट्रिय मोर्चाले पनि सरकारसँग वार्ता गर्न टोली गठन गरेको हो ।

 

 
 
  
 

You may also like