श्रीमानलाई औषधि किन्न पठाएर डाक्टरद्वारा क्याविनमै महिलामाथि यौन दुर्व्यवहार

सप्तरी। बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले एक डाक्टरलाई पक्राउ गरेको छ ।उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत एक डाक्टरलाई (अनुसन्धानकै क्रममा रहेकाले नाम प्रकाशित नगरिएको) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै क्याबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा ती डाक्टरलाई पक्राउ गरिएको हो । अस्पतालले समेत तत्कालै ती डाक्टरलाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एक पटक भेट्नु भनेर ती डाक्टरले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लील क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताइन् ।

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर ती डाक्टरले पीडितका पतिलाई औषधि पसल पठाएर क्याबिनभित्र अश्लील क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताइन् । ती डाक्टरले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए ।

पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए। रासस

 
 
  
 

You may also like