पतिसँगै होटलमा बसेकी महिला पाँच तलाबाट खसेको अवस्थामा मृत भेटिइन्

जनकपुर। जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला पाँच तला माथिबाट खसेर मृत्यु भएको अवस्थामा भेटिएकी छिन् ।जनकपुरको रामानन्दचोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि पतिसँगै बस्दै आएकी ३० वर्षीया सिर्जना सुनार सिर्पाली आज (बुधबार) बिहान मृत फेला परेकी हुन् । होटेलछेउमै रहेको जनकपुर खानेपानी संस्थानको कम्पाउण्डमा आधा जिउ पानीमा र आधा बाहिर अवस्थामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै आएकी म्याग्दीको तत्कालीन बिम गाविस निवासी सिर्जनाको मृत्यु रहस्यमय देखिएको छ । उनका श्रीमान विश्वास सिर्पालीले भने पत्नीले गएराति होटलको पाँचौ तलाबाट हामफालेर आत्महत्या गरेको दाबी गरेका छन् ।

तर आत्महत्या हो वा खसालिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ । श्रीमान विश्वासका अनुसार राति १२ बजेसम्म गफगाफ गरेर दुवै जना सुतिएको थियो । तर बिहान साढे ३ बजे ब्युझिँदा नदेखिएपछि खोजबिन गर्दा तल पछारिएको अवस्थामा उनको शव भेटिएको उनको दाबी छ ।

११ दिनअघि मात्र आफू विदेशबाट फर्किएको र स्कुटीको लाइसेन्स बनाउन दुवै सँगै जनकपुर आएको विश्वासले प्रहरीसमक्ष बयान दिएका छन् । घटना शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

 

 
 
  
 

You may also like