धुर्मुस–सुन्तलीको टोली निस्कियो मेची–महाकाली अभियानमा

काठमाडौंं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा देशभरका नागरिकलाई भावनात्मक रुपमा जोड्ने उद्देश्यले अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सहितको टोली मेची–महाकाली अभियानमा निस्केको छ ।

रंगशाला निर्माणकोे अवस्थाबारे घर–घरमा जानकारी बाँड्ने र जनतालाई अपनत्व महासुस गराउने उद्देश्यले अभियन्ताको टोली मेची–महाकाली अभियानमा निस्केको हो ।
आज बिहान निर्माणाधीन रंगशाला परिषरबाट टोली कञ्चनपुरतर्फ प्रस्थान गरेको हो ।

मेचीदेखि महाकालीसम्मका ७७ वटै जिल्लामा पुग्ने टोलीको लक्ष्य छ । जसअनुसार पहिलो चरणको यात्रा कञ्चनपुरबाट शुरु हुनेछ । १० र ११ गते कञ्चनपुरमा बिताएपछि १२ र १३ गते कैलाली, १४ र १५ गते बर्दिया, १६ र १७ गते बाँके, १८ र १९ गते दाङ, २० र २१ गते सुर्खेत, २२ र २३ गते कपिलवस्तु जाने कार्यक्रम छ । यसैगरी २६ र २७ गते परासी र नवलपुरमा बिताएर पहिलो चरणको यात्रा अन्त्य गरिने छ ।

मेची–महाकाली यात्राका क्रममा सम्वन्धित जिल्लामा रहेका स्थानीय तहहरुका साथै जनताको घरदैलोमा पनि पुग्ने कलाकार तथा अभियन्ता सीताराम कट्टे ‘धुर्मुस’ ले जानकारी दिए । स्थानीय तहहरुलाई यसबारे पहिल्यै पत्राचार गरिसकिएको उनले जानकारी दिए ।

‘धेरै दिदीबहिनी दाजुभाइहरु रंगशालाको विषयमा जिज्ञासा भएर पनि टाढा भएकाले स्पटमा पुग्न सक्नु भएको हुँदैन, उहाँहरुलाई यो रंगशालासँग जोड्नका लागि पनि यो अभियान थालेका हौ,’ धुर्मुसले भने ।

धुर्मुसका अनुसार पहिलो चरणको यात्रा समाप्त भएपछि टोली रंगशालामा फर्किने छ । केही दिन रंगशालामा विश्राम गरेपछि दोस्रो चरणको यात्रा आरम्भ गरिने उनले जानकारी दिए । भ्रमण टोलीमा धुर्मुसका साथमा अर्जुन घिमिरे ‘पाँडे’, निगम हुमागाईं, अर्जुन भुषाललगायत छन् ।
‘यो यात्राका क्रममा हामी पश्चिम महाकाली नदी, पूर्व मेची नदी तथा लुम्बिनीको माटो ल्याएर वैशाखमा रंगशालाको मैदानको पीचमा त्यसलाई समाहित गर्नेछौं,’ फेसबुक लाइभमा आएका धुर्मुसले बताए ।

धुर्मुस मेची–काली अभियानमा रहँदा पनि रंगशाला निर्माणको काम भने रोकिने छैन । धुर्मुसको अनुपस्थितिमा कुञ्जना घिमिरे सुन्तलीले त्यहाँको जिम्मेवारी सम्हाल्ने छिन् । अहिले रंगशालामा २८६ वटा पिल्लरहरु उठिसकेका छन् ।

नयाँ वर्षको अवसरमा पहिलो चरणको प्याराफिट तयार हुने अपेक्षा लिइएको धुर्मुसले बताएका छन् । पछिल्लो समय सोंचे अनुसार र प्रतिवद्धता अनुसार रकम संकलन हुन नसक्दा रङ्गशाला निर्माणमा आर्थिक समस्या आइरहेको छ । अहिले प्रतिवद्धता अनुसारको रकम जोहो हुन नसकेका कारण उधारोमा भौतिक सामग्री जुटाएर भए पनि निर्माण कार्य अगाडि बढिरहेको छ ।

 

 
 
  
 

You may also like