कांग्रेस पदाधिकारी बैठक बस्दै, ओलीको विकल्पबारे छलफल हुने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (सोमबार) पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा पार्टीका वर्तमान र पूर्व पदाधिकारी सहभागी हुने कांग्रेस नेताहरुले बताएका छन् ।

बैठकमा पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिबारे छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । ‘आन्तरिक विषयअन्तर्गत महाधिवेशन, क्रियाशील सदस्यताको विषयमा छलफल हुन्छ,’ शर्माले भने, ‘बैठक बसिसकेपछि राष्ट्रिय राजनीतिको बारेमा छलफल त हुन्छ नै ।’

नयाँ सत्ता समिकरणको विषयमा चर्चा चलिरहेको बेला बस्न लागेको कांग्रेस पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ । कांग्रेसमा नयाँ सत्ता समीकरणको विषयमा दुई धार देखा परेको छ । सभापति शेरबहादुर देउवा कांग्रेसले सत्ताको नेतृत्व लिन हतार गर्न नहुने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने तुरुन्तै कांग्रेसले सत्ताको नेतृत्व लिन अग्रसर हुनुपर्ने र केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुपर्ने पक्षमा छ ।

आजको बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ । आजको वैठकमा पनि वरिष्ठ नेता पौडेल पक्षले ओलीको विकल्पका लागि तयार हुन सभापति देउवालाई दवाव सिर्जना गर्ने स्रोतले जानकारी दिएको छ । वरिष्ठ नेता पौडेलले नयाँ सरकार निर्माणका लागि देउवाको मौनता आश्चर्यजनक रहेको बताउँदै आएका छन् ।

 
 
  
 

You may also like