कसैको चाहना छुटिएर गईदिए हुन्थ्यो भन्ने छ, तर हामी पार्टी विभाजन हुन दिंदैनौं : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले खनाल–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ गतेको संगठन संरचनामा फर्किए एकता हुने बताएका छन् ।

राष्ट्रिय भेलामा आज (बुधबार) भएका गतिविधिबारे ब्रिफिङ गर्दै उनले सर्वोच्चको फैसलाअनुसार ओली त्यसमा फर्किनु पर्ने उनले बताए । अनुकूल समयमा संसदीय दलको बैठक बोलाए सहभागी हुने पनि उनले बताए । भोलिको बैठकमा व्यस्तताका आफूहरु सहभागी हुने उनले बताए । ‘२०७५ साल जेठ २ गतेको संगठनमा फर्किन प्रधानमन्त्री तयार भए र चाहनु भए एकता हुन्छ । एकताको आधार विन्दु नै जेठ २ को संगठन हो’ उनले भने ।

आफूहरु पार्टी विभाजनको पक्षमा नभए पनि ओली समूहका नेताहरु छुट्टिएर गई दिए हुन्थ्यो भन्ने चाहेको उनले बताए । ‘कसैको चाहना त्यो छ । मैले बुझिराखेको छु । उतापट्टिका साथीहरुको चाहना यिनीहरु छुट्टिएर गए हुन्थ्यो भन्ने छ । तर हामी पार्टी विभाजन हुन दिँदैनौ’, भट्टराईले भने । ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठक नभएर गुट भेला भएको भट्टराईले बताए ।

नेता भट्टराईले आफूहरुले समानन्तर कमिटी गठन गरेर पनि नजाने स्पष्ट पारेका छन् । आफूहरुले पार्टी एकताकै पक्षमा सचेत भएर कदम चालिरहेको बताउँदै भने, ‘यो भेला एमालेबाट छुट्टिनका लागि गरेको होइन, त्यसो भएको भए व्यानरमा अर्कै नाम हुन्थ्यो’, ‘उताकाहरुलाई यिनीहरु छुट्टिएर गए हुन्थ्यो भन्ने छ, यो पार्टी निर्माण गर्न हाम्रो ठूलो भूमिका खेलको छौं । हाम्रो मेहनत, पसिना छ, लाखौं सदस्यको सहभागिता र नेताको भूमिका छ । मन, वचन र कर्मले यो पार्टी विभाजन हुन दिँदैनौं ।’

 
 
  
 

You may also like