प्रचण्डलाई ओलीको फोन : एकपल्ट भेटौं न

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटको प्रस्ताव गर्दै फोन गरेका छन् । सोमबार बिहान ओलीले प्रचण्डले फोन गरेर भेटको प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् ।

‘उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नु भएको छ । प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्ने जवाफ दिनु भएछ,’ प्रचण्ड निकट ती नेताले सुनाए, ‘त्यसपछि उहाँ (ओली) ले बिहान बेलुका समय मिलाएर भेटौं न भन्नु भएछ । त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग–अलग भएपछि अब के कुरा छ र भन्नु भयो ।’

ओलीले भने दाहालसँग आफूले केही कुरा गर्न चाहेको बताएका थिए । ‘तपाईंको कुरा तपाईसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ । मैले भनेको कुरा तपाईंले मान्नु पर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नु पर्छ भन्ने पनि छैन । तर म केही कुरा गर्न चाहन्छु,’ ओलीले प्रचण्डसँग भनेका थिए ।

गत पुस १५ गते ओलीले दाहाल पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए । त्यसयता उनीहरुबीच सामान्य संवाद पनि भएको छैन ।

 
 
  
 

You may also like