रुपन्देहीमा श्रीमतीसँग यौन सम्बन्ध राखेको थाहा पाएपछि हत्या

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ ।

आफ्नी श्रीमतीसँग यौन सम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको प्रहरीको दाबी छ । गत मंसिर १७ गते बिहान ७ः३० बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडक खण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतका अनुसार पक्राउ परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् । लोधको टाउकोमा गम्भीर चोट लागेको,नाक र मुखबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाएको थियो ।

घटनास्थलबाट उठाइएको सबुद प्रमाण, प्राविधिक पक्षको विश्लेषणलगायत अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न आएको प्रहरीको दाबी छ । यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like