माओवादी केन्द्र र जसपाका नेताबीच पेरिसडाँडामा वार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।

अहिले माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई दलका नेताहरुबीच छलफल चलिरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

आज (बुधबार) हिजो र मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोही अनुसार दाहालले जसपा नेताहरुसँग छलफल गरेका हुन् । दाहालले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए ।

देउवासँगको भेट सकारात्मक भएको र जसपासँग बुधबार पनि छलफल गरेपछि एउटा निष्कर्षमा पुग्न सकिने ब्रिफिङ अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा राखेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समीकरणको प्रयास अगाडि बढेका छन् ।

जसपाको पनि मंगलबार संसदीय दलको बैठक बसेको थियो । बैठकले रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो । बिहीबार जसपाको अध्यक्ष मण्डलको बैठक बस्दै छ ।

 

 
 
  
 

You may also like