वामदेव गौतमले एकता अभियानलाई सशक्त बनाउने, अघि सारे तीन विकल्प

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले पार्टी एकता अभियानलाई थप सशक्त बनाउने निर्णय गरेको छ । गौतम निवास भैंसेपाटीमा आज (सोमबार) बसेको पदाधिकारी बैठकले एकताको विकल्प नभएको निष्कर्ष निकालेको अभियानका सचिव बाबुराम थापाले जानकारी दिए ।

उनका अनुसार पूर्व एमाले एकीकृत भएपछि मात्रै अभियानका नेता तथा कार्यकर्ता सम्बन्धित कमिटीको बैठकमा सहभागी हुनेछन् । ‘पार्टी एकताको पहिलो चरण भनेको अब पूर्व एमालेको एकता हो,’ थापाले भने, ‘सबैभन्दा पहिला माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग एकता हुनुपर्छ । त्यसपछि मात्र हामी बैठकमा सहभागी हुन्छौँ । सबै कम्युनिष्ट पार्टीहरू बीचमा सहकार्य गराउँदै अघि बढ्नुपर्ने निष्कर्ष हामीले निकालेका छौँ ।’

नेता गौतमले सर्वोच्च अदालतको फैसलापछि विकसित परिस्थितिमा तीन विकल्प अघि सारेका हुन् । गौतमले अब नेकपा एमालेलाई एक बनाउने, माधवकुमार नेपालको सम्मानजनक व्यवस्थापन गर्ने र नेकपा माओवादीसँग कार्यगत एकतामार्फत वामपन्थी सरकारको निरन्तरता दिने प्रस्ताव अघि सारेका छन्।

‘अबको पहिलो काम भनेको एमाले एक बनाउने, माधवकुमार नेपालको सम्माजनक व्यवस्थापन गर्ने र माओवादीसँग कार्यगत एकता गरेर वामपन्थी नेतृत्वको सरकारलाई निरन्तता दिने हो,’ गौतमले शुरु गरेको एकता अभियानका सहसंयोजक हरि पराजुलीले भने ।

पराजुलीकाअनुसार यस विषयमा गौतमले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कोटेश्वरमा माधव नेपालसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो ।
त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको एउटा पक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अर्को पक्षको नेतृत्व गर्दै आएका थिए ।

 

 
 
  
 

You may also like