प्रहरी स्कर्टिङ्गमा स्कर्पियो चढेर काठमाडौंमा पुगे ‘विप्लव’, प्रकाण्ड बालुवाटारमा

काठमाडौं। सरकारसँगै तीन बुँदे सहमति भएसँगै आज (शुक्रबार) सार्वजनिक भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रहरी स्कर्टिङ्गमा काठमाडौं आइपुगेका छन् ।

दुईवटा स्कर्पियो गाडीमा महासचिव विप्लवसहितको टोली शुक्रबार मध्यान्ह खानीखोलाबाट नागढुंगातर्फ आएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका ‘विप्लव’ ले आज एउटै मञ्चबाट सम्वोधन गर्दैछन् । सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् ।

दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि राति नै आउने तयारी गरेका विप्लव केहीबेरअघि काठमाडौं आइपुगेको स्रोतले जानकारी दिएको छ ।

‘सरकारले पठाउने भनेको हेलिकोप्टर अस्वीकार गर्नुभयो’, विप्लव समूहका एक केन्द्रीय सदस्यले भने, ‘राति आउने कुरा थियो तर आउन सक्नु भएन । अहिले बिहान नवलपुरको देवचुलीस्थित शहीद परिवारलाई भेटेर काठमाडौं आउनु भएको हो । उहाँ केही बेरअघि काठमाडौं आइपुग्नु भएको हो ।’

विप्लवले बिहान शही परिवारलाई भेटेर काठमाडौंतर्फ प्रस्थान गरेका थिए । विप्लवलाई प्रहरीले स्कर्टिङ गरेर काठमाडौं ल्याइएको थियो । काठमाडौंमा भने उनलाई काठमाडौं प्रहरीले सुरक्षा दिएको छ । त्यस्तै विप्लवका तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अहिले बालुवाटार पुगेका छन् ।

सरकार र नेकपाबीच बिहीबार तीन बुँदे सहमति भएसँगै नेकपामाथि लागेको प्रतिबन्ध सरकारले हटाएको छ । प्रतिबन्ध हटेसँगै विप्लव समूहका नेताहरु सार्वजनिक हुन थालेका छन् भने हिरासतमा रहेका नेताहरुलाई पनि छाड्न थालिएको छ । नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला शुक्रबार बिहान काभ्रे प्रहरीको हिरासतबाट रिहा छन् । उनी अहिले काठमाडौँ आइसकेका छन् ।

 
 
  
 

You may also like