आज प्रजातन्त्र दिवस : विविध कार्यक्रम गरी मनाइँदै

by समतल अनलाइन

काठमाडौं। आज (शुक्रबार) ७१ औं प्रजातन्त्र दिवस स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ ।

त्यसअघि नेपाली सेनाले आज बिहान ६ः२९ मा तोप सलामी र बिगुल बजाएर बढाइँ गरेको थियो । अघिल्ला वर्षहरुमा धरहराबाट बिगुल बजाउने गरिए पनि आज जंगीअड्डा र त्रिचन्द्र महांकाल हस्पिटलको भवनबाट बिगुल बजाइएको छ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

 
 
  
 

You may also like