फागुन २३ गतेदेखि ६० वर्ष माथिकालाई कोरोनाविरुद्धको खोप लगाइने

by समतल अनलाइन

अहिलेसम्म दुई लाख ६३ हजार ४८२ जनाले लगाए खोप
काठमाडौं। सरकारले आउँदो फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने तयारी अगाडि बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । भारत सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको हो ।

पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपंत्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो ।

यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाउन थालिएको छ। यसअघि माघ २६ देखि ३० गतेसम्म काठमाडौँमा कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा पत्रकारलाई समेत खोप लगाइएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अहिलेसम्म दुई लाख ६३ हजार ४८२ जनाले खोप लगाइसकेका छन् । पहिलो चरणमा प्राथमिकता परेका ८४ प्रतिशतले खोप लगाएको उनले बताए ।

प्रदेश–१ मा ७२ प्रतिशत, प्रदेश–२ र वाग्मती प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा शतप्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, कर्णाली प्रदेशमा ७२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशतले पहिलो चरणमा पहिलो प्राथमिकता परेका व्यक्तिले खोप लगाएका छन् । उनले खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन अनुरोध गरेका छन् ।

 

 
 
  
 

You may also like