प्रधानमन्त्री ओलीको तीन बर्षे ब्रिफिङ: विकास कागजमा !

by समतल अनलाइन

काठमाडौँ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले दुई घण्टाभन्दा बढी समय लगाएर सरकारका उपलब्धिहरु सुनाए । प्रधानमन्त्री ओलीले देशमा विकासको लहर आएको र सरकारले गरेका काम यति सानो समयमा उल्लेख गर्न नसकिने बताए । उनले सडक संजाल, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्यमा फड्को मारेको दाबि गर्दै विभिन्न आँकडा समेत प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीले विशेष जोड दिएर सरकारले भ्रष्ट्राचार रोकेको दाबि मात्रै गरेनन् कारवाहीको सिलसिला पनि बढाएको बताए ।

लामो समय आफ्नै पार्टीको विवाद र प्रतिनिधि सभा विघटनलाई सहि भन्नमा खर्च गरेका प्रधानमन्त्री ओलीले एकातिर पार्टी विवादले काम नै गर्न पाइएन भन्दै थिए भने अर्कोतर्फ सरकारले गरेका कामको लामो फेहरिस्त पनि सुनाउदै दिए ।

प्रधानमन्त्री ओलीले फेरी प्रतिनिधि सभा विघटन संबिधान सम्मत भएको दाबि गरे । उनले संसदमा सरकार बन्ने अन्य विकल्प नै नभएको बताउदै तोकिएको समयमा चुनाव हुने बताए ।

उनले अहिले सडकमा प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनिएकोमा आपत्ति जनाउदै निर्वाचनमा जानुलाई कसरी प्रतिगमन भन्न सकिन्छ ? भन्दै प्रश्न गरे । काम गर्ने वातावरण नभएपछि, सहयोग नपाएपछि निर्वाचनमा जाने कदम उठाएको बताउदै प्रधानमन्त्री ओलीले जनतामा जानु प्रतिगमन नभएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो तीन बर्षे कार्यकाल पुरा गरेको अवसरमा सुनाएका फेहरिस्त कुनै नयाँ थिएनन् । आजभोली हरेक दिन उनले गर्ने पार्टीका सभाहरुमा यी सुनिएकै कुरा हुन् ।

तर प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण बन्द भएका व्यवसाय व्यवसायीको अहिलेको अवस्था कस्तो छ ? भन्ने बारे बोल्दै बोलेनन् । उनको कुरामामा सबै ठिक ठाक नै छ जस्तो बुझियो । करिब एक बर्षदेखि विद्यालय जान नपाएका बालबालिकाहरुको मनोविज्ञानका बारेमा प्रधानमन्त्रीले कुरै गरेनन् । ठुलो संख्यामा बेरोजगार रहेको युवा पंक्तिलाई प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यकर्ताभन्दा बाहिर जान सक्यो की सकेन, त्यो त बताउदै बताएनन् ।

प्रधानमन्त्री ओलीले फेरी आफुपनि भ्रष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिने कुरा दोहोराए । तर आफ्नो कार्यकालमा भएका स्वास्थ्य सामाग्री खरिदको भ्रष्ट्राचार, यति प्रकरण, गोकुल बास्कोटा प्रकरण, सुन प्रकरण, वाइडबडी प्रकरण जस्ता प्रकरणको उल्लेख नै गरेनन् । यी प्रकरणका दोषीलाई के कारवाही भयो ? जनताले सुन्न चाहेको शायद यो थियो । तर प्रधानमन्त्री ओलीले आफ्नै कसम दोहोराए तर यी प्रकरण उल्लेख नै गरेनन् ।

प्रधानमन्त्री ओलीले विकासको लहर आयो भन्दै गर्दा खासै प्रगति नभएको द्रुत मार्ग, दशकौं देखि गिज्याई रहेको मेलम्ची, तानातानमा परेको बुढीगण्डकी जस्ता राष्ट्रिय महत्वका आयोजनाका बारेमा बोलेनन् ।

प्रधानमन्त्री ओलीको तीन बर्षे कार्यकालको फेहरिस्त सुनेपछि देश समृद्द भइसकेको आभास भयो तर यो वास्तविकता भन्दा निकै पर रहेको छ । अहिले पनि किसानका उत्पादन विक्री नभएर सडकमा फालिदै छ । युवाले रोजगारका लागि खाडी मुलुकको भिसा पर्खिनुपर्ने अवस्था परिवर्तन भएको छैन । एउटा युवाले आफै केहि गरौँ भन्दा उसले बेहोर्नुपर्ने प्रशासनिक झन्झट झन् बढेको छ, घटेको छैन । नत किसानका समस्या समाधान भएका छन् नत व्यवसायीका । दशकौंदेखि किसानले खेती गर्ने बेला मल नपाउने समस्या उस्तै छ ।

अझ सामान्यरुपमा भन्दा आम नागरिकको जीवनस्तरमा (रेमिट्यान्सले बाहेक) सरकारको कामले खासै परिवर्तन आएको महसुस भएको छैन ।

कोरोनाले तहसनहस भएको आम मानिसको मन र देशको अर्थतन्त्र बल्ल बल्ल उठ्दै गर्दा फेरी राजनीतिक अस्थिरताको भुमरीमा देश पुगेको छ । यसले झन् अन्योलता बढाएको छ ।

यस्तो अवस्थामा देशमा केहि नभएको जस्तो, सबै सामान्य रहेजस्तो प्रधानमन्त्री ओलीको प्रस्तुति असुहाउदो रहयो । उनले प्रस्तुत गरेको विकासको फेहरिस्त कागजमै बढी र वास्तविकतामा महसुस हुन सकेन ।

 

 
 
  
 

You may also like