अब ओलीको रुने दिन आयो : बालकृष्ण खाँण , ‘प्रधानमन्त्री र मन्त्रीहरूले झिटीगुन्टाको व्यवस्थापन गर्नुस्’

by समतल अनलाइन

भैरहवा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको रुने दिन नजिकिएको बताएका छन् । पार्टीले आज (सोमबार) भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता खाँणले जनताको रुने दिन सकिएको बताए ।

उनले भने, ‘अब जनताको रुने दिन सिद्धियो, अब रुने दिन कम्युनिष्टको आयो, अब रुने दिन केपी ओलीको आएको छ ।’ प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक र सर्वसत्तावादको यात्रा भएको उनले बताएका छन् । यद्यपि सर्वोच्च अदालतले संविधानको रक्षाको पक्षमा फैसला गर्छ भन्नेमा आफू विश्वस्त रहेको खाँणले बताए ।

सरकारले संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा मिडिया विधेयक, सूचना प्रविधि विधेयक ल्याएर जनताको मुख थुन्ने काम गरेको उनले बताए ।

संविधानमाथि निरन्तर प्रहार गर्ने र जनताको जीवनप्रति असंवेदनशील ओलीलाई एक दिन पनि सरकारमा बस्ने अधिकार नभएको खाँणको भनाइ छ । उनले भने, ‘नेपाली जनताले दिन गन्ती शुरु गरे, प्रधानमन्त्री र मन्त्रीहरूले झिटीगुन्टाको व्यवस्थापन गर्नुस् ।’

 
 
  
 

You may also like