ओलीलाई देश र जनताको होइन, आफू कसरी टिकिराखौं भन्ने मात्र चिन्ता छ : अध्यक्ष नेपाल

by समतल अनलाइन

तेह्रथुम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई देश र जनताको नभई आफ्नो प्रधानमन्त्री पद कसरी जोगाई राखौं भन्ने मात्र चिन्ता भएको बताएका छन् ।

तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिना कारण पक्राउ परेर ओलीले आफूहरुको मुटु छाम्ने खोजेको बताए ।

अध्यक्ष प्रचण्डले रामकुमारीपछि आफू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गिरफ्तार गर्ने योजना रहे पनि त्यो सफल हुन नसकेको बताए । अध्यक्ष नेपालले तर्साउन झाँक्रीपछि आफू र प्रचण्डलाई गिरफ्तार गर्ने योजना भए पनि झाँक्री गिरफ्तार गर्दा उर्लिएको जनसागरले ओली आफै डराएर पछि हटेको बताए ।

‘रामकुमारीलाई पहिले समात्ने अनि माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गिरफ्तार गर्ने योजना रहेछ । कस्ता फूर्ति कस्ता घुर्की । तिनले तर्साएर हामी तर्सने मान्छे हौं ?’ अध्यक्ष नेपालको प्रश्न छ । उनले ज्ञानेन्द्र जस्ताको त आफूहरुले सातो लिएको भन्दै केपी ओली कहाँका हुन् ? भनेर प्रश्न गरे ।

उनले उनले मान्छेहरु भोकभोकै पर्दा, कोरोनाले थलिँदा, महिलाहरु बलात्कारमा पर्दा, बन्द उद्योग धन्दाहरु चलाउ भन्दा समेत ओलीले बेवास्ता गर्ने गरेको गुनासो गरे । अध्यक्ष नेपालले ओलीको सन्की स्वभावकै कारण उनीसँग केन्द्रीय समितिमा सय जनाभन्दा बढी नरहेको भन्दै बहुमत आफ्नो पक्षमा रहेकाले नेकपा आफ्नो पार्टी भएको दावी गरे ।

‘बहुमत हामीसँग छ । यो पार्टी हाम्रो पार्टी हो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । केपी ओलीको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा हुन सक्दैन’ अध्यक्ष नेपालको भनाई छ । उनले केपी ओलीलाई रहर नै भए ओली फाउन्डेसन बनाउन सुझाव पनि दिए ।

‘उनले कम्युनिष्ट पार्टीको नाम बोक्न सक्दैनन्, पाउँदैनन् । यो सूर्य यहि पार्टीसँग रहुनुपर्छ अनि सूर्य चिन्ह खोस्नका लागि अनेक षड्यन्त्र र तानावाना बुनिँदैछन् । दुइटैलाई नदिने भनेर’ नेपालले भने, ‘यदि त्यस्तो षड्यन्त्र भयो भने देशमा ठूलो विग्रह र संकट निम्त्याउछ भन्ने बुझे हुन्छ ।’

उनले ओलीले दिनलाई रात भन्न थालेको भन्दै यस्तो बेलामा चुप लागेर आफूहरु बस्न नसक्ने बताए । उनले संविधानको कुनै पनि धारामा बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको पनि बताए । ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानको कुनै पनि धारामा छैन’ नेपालको भनाई छ ।

 

 
 
  
 

You may also like