रामकुमारी पक्राउ : बिना उजुरी प्रधानमन्त्रीकाे आदेश र गृह मन्त्रीको निर्देशनमा पक्राउ

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्री पक्राउका लागि उनको निवास शंखमूलमा विहिबार बिहान प्रहरी पुग्यो । झाँक्रीको निवास सादा पोशाकका प्रहरीले बिहानैदेखि घेराउ गरेपनि नेता तथा कार्यकर्ताहरुले प्रहरीलाई गेट भित्र छिर्न नदिएपछि पटक-पटक झपडको अवस्था बन्यो ।

अप्रिय घटना नहोस् भनेर नेतृ झाँक्रीले गिरफ्तारी दिन प्रहरीलाई पक्राउ पुर्जी मागिन् । तर, पक्राउ गर्न पुगेका अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मीसँग पुर्जी थिएन । झाँक्रीको अडानपछि पक्राउ पुर्जीको लागि एक इन्सपेक्टर पठाए ।

मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी आयो । प्रहरीले पक्राउ पुर्जी दिएपछि नेतृ झाँक्रीले कार्यकर्ताहरुलाई सम्बोधन गरेर गिरफ्तारी दिन तयार भएको जानकारी दिएकी थिइन् ।

नेतृ झाँक्रीको सम्बोधन पछि मात्रै कार्यकर्ताहरुले प्रहरीलाई गेट भित्र जान दिए । तर झाँक्री विरुद्ध उजुरी दिने चहिँ को थिए त ? प्रहरी स्रोत भन्छ, ‘उजुरी कसैले पनि दिएको होइन ।’ स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गृह मन्त्रालयले भाँक्रीलाई पक्राउको आदेश दिएको थियो ।

नेतृ झाँक्रीलाई पक्राउ गरिदै
गिरफ्तारपछि प्रहरीले उनलाई मीनभवनस्थित अपराध अनुसन्धान महाशाखाको हिरासतमा लगियो । मुलुकी अपराध संहिताको दफा ५८ अनुसार लगाइएको उक्त कसुर प्रमाणित भएको खण्डमा झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुन सक्थ्यो । तर, प्रहरीले उनीमाथि कुनै पनि अभियोग नलाई साँझ झाँक्रीलाई छोडिदियो । छोड्न अघि प्रहरीले उनलाई चार प्रश्न सोधेको थियो ।

प्रहरीलाई भाँक्रीले दिएको बयान :

गोरखाको सिरानचोकमा तपाईंले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिनु भएको हो ?
मैले बोलेको हो। संविधानको धारा १७ ले नागिरकलाई स्वतन्त्रताको हक प्रदान गरेको छ। त्यसैअनुसार नागिरक र राजनीतिकर्मी भएको कारणले मैले सो कुरा बोलेकी हुँ।

राष्ट्रपतिप्रति तपाईंको आस्था, विश्वास र धारणा के हो ?
संवैधानिक राष्ट्रपतिप्रति विगत, वर्तमान र भविष्यमा पनि मेरो अटल आस्था र विश्वास रहने छ। सबै निकायले नेपालको संबिधान तथा ऐनको परिपालना गर्नु पर्छ भन्ने मेरो जोड छ ।

गोर्खाको सिरानचोकमा राजनीतिक कार्यक्रम थियो कि अन्य केही थियो ?
राजनीतिक कार्यक्रम थियो र त्यहीँ राष्ट्रपतिको बारेमा बोलेको हुँ।

अन्य भन्नु केही छ ?
हामी स्वतन्त्रताका लागि लड्दै आएका हौँ र त्यसका लागि लडिरहने छौँ।

१६ माघमा गोरखाको सिरान चौरमा भएको नेकपाको सभालाई सम्बोधन गर्ने क्रममा भाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गरेकी थिइन् । राष्ट्रपति भण्डारी ‘बालकोट गएपनि हुन्छ’ भन्ने शब्दप्रति आपत्ती जनाउदै ओली निकट महिला संघकी नेतृहरु गोमा देवकोटा, सुजिता शाक्य लगायतले २१ माघ २०७७ मा झाँक्रीलाई पक्राउको माग राखेर गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

 

 
 
  
 

You may also like