प्रचण्ड-नेपाल पक्षको आज देशव्यापी आमहड्ताल

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले संवैधानिक निकायमा सरकारले बुधवार गरेको नियुक्तिको विरोधमा आज देशव्यापी आमहड्ताल गर्दै छ ।

प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको नियुक्ति गरेपाची नेकपाको प्रचण्ड–नेपाल पक्षले आमहड्तालको कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेकी थिइन् । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रूपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले आकस्मिक रूपमा देशव्यापी आम हड्तालमा लागेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरूमा गरिएको नियुक्ति बल मिच्याइँ र निरंकुशतन्त्रको पराकाष्ठा भएको बताएका थिए ।

बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधन र परिक्षा सञ्चालनमा कुनै अवरोध नहुने जनाइएको छ ।

काठमाडौँमा तोकियो कमाण्डर :

प्रचण्ड-नेपाल पक्षले आजको आम हड्तालका लागि काठमाडौँका मुख्य स्थानहरुमा कमाण्डर तोकेको छ ।

प्रचण्ड-नेपाल पक्षले काठमाडौँका विभिन्न १० स्थानका लागि स्थायी कमिटी सदस्यहरुलाई कमाण्डर तोकेको हो ।

जसमा कलङ्कीमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल, कोटेश्‍वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्‍जमा शक्ति बस्‍नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्‍नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा तोकिएका छन् ।

सबैधानिक आयोगहरुमा भएको नियुक्तिको विरोधमा विहिबार देशव्यापी आमहड्तालको पूर्व सन्ध्यामा देशका विभिन्न शहरमा मसाल जुलुस गरिएको थियो ।

शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न गृह मन्त्रालयको चेतावनी

सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले ले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, “शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा नियुक्ति गरेका थिए । संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले बिहीबार आमहडताल आह्वान गरेको हो । दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like