प्रधानमन्त्री आफै सडक आन्दोलनमा उत्रिनु अचम्म लाग्दो विषय : नेता सिटौला

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आन्दोलनमा उत्रिएका अरु दललाई संयमित बन्न आग्रह गर्नुपर्ने सरकार आफै सडक आन्दोलनमा उत्रिनु अचम्मलाग्दो कुरा भएको बताएका छन् ।

सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानुनी रुपमा एउटै पार्टी भएको र प्रधानमन्त्री केपी शर्मा ओली स्वयम सडकमा आउनु आश्चर्यको विषय भएको सिटौलाले बताएका छन् । माघ २३ गते नारायणहिटी दरवार अगाडि हुने भनिएको ओली समूहको आमसभाका विषयमा नेता सिटौलाले भने, ‘सरकारले अन्य दलको आन्दोलन वा सभालाई संयमित बनाउन पहल गर्ने हो । तर यहाँ त सरकार आफैं सडकमा आइरहेको छ । यही अचम्म लाग्दो कुरा छ ।’

नेता सिटौलाले विघटित प्रतिनिधि सभा पुनर्स्थापना नभए नेपालमा कुनै पनि व्यवस्थाले काम नगर्ने समेत बताएका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेका बेला कांग्रेस नेता सिटौलाले सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुने विश्वास व्यक्त गरे ।

कांग्रेसका पूर्व महामन्त्री समेत रहिसकेका सिटौलाले सर्वोच्च अदालतले सुझबुझका साथ फैसला गर्ने आफूमा विश्वास रहेको बताए । ‘नेपालमा राजनीतिक परिवर्तनका लागि संघर्षको लामो इतिहास छ । अहिलेको संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीलाई जुनसुकै बेला संसद विघटन गर्ने अधिकार कतै पनि दिएको छैन । त्यसैले प्रतिनिधि सभा पुनर्स्थापित नभए नेपालमा कुन व्यवस्था स्थायी हुन्छ ?’ सिटौलाको प्रश्न थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको ओली समूह बाहेक अन्य दलहरू आ–आफ्नै हिसाबले आन्दोलन तथा संघर्षमा छन् । मुद्दा एउटै भए पनि संयुक्त रुपमा आन्दोलन गर्ने वातावरण अझै पनि बन्न सकिरहेको छैन । कुराकानीका क्रममा कांग्रेस नेता सिटौलाले अहिले नै संयुक्त आन्दोलनको बेला भइनसकेको प्रतिक्रिया दिए । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले फैसला नहुञ्जेल त्यस्तो अवस्था नआउने उनले बताए ।

उनले भने, ‘सर्वोच्च अदालतले उचित फैसला गर्छ भन्नेमा म विश्वस्त छु । त्यसैले अहिले नै संयुक्त आन्दोलनको स्थिति आइसकेको छैन ।’ कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावप्रति सकारात्मक देखिइरहेका बेला घोषणा गरिएको चुनाव हुनै नसक्ने नेता सिटौलाले बताए।

कांग्रेसको कुन नेता कसको पक्षमा लाग्छ भन्ने नितान्त व्यक्तिगत कुरा भएको तर पार्टीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निर्णय नै सर्वोपरी भएको सिटौलाको भनाइ थियो ।
पार्टीको आगामी महाधिवेशनमा आफू नेतृत्वका लागि उम्मेद्वारी दिने वा नदिने भन्ने विषय टुंगो लागिनसकेको उनले बताएका छन् । अहिले नै बेला भइनसकेको तर पार्टीको नेतृत्वमा अधिकांश नयाँ पुस्ता आउनुपर्छ भन्नेमा आफ्नो जोड रहेको सिटौलाको भनाइ थियो ।

 

 
 
  
 

You may also like