सबैलाई निःशुल्क कोरोना खोप : तीन दिनमै फेरियो ओलीको बोली

by समतल अनलाइन

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नागरिकले निःशुल्क कोरोना खोप पाउन सक्ने अवस्था बनिनसकेको बताएका छन् ।

आज ९शनिबार० चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र फ्रन्ट लाइनमा रहेकालाई र एक वर्षभित्र सबै नागरिकलाई लाइसक्ने बताएका छन् ।
उनले भारतबाट प्राप्त १० लाख खोप फ्रन्ट लाइनमा रहेकालाई लगाउन शुरु गरिएको भन्दै सन् २०२१ भित्र सबै नागरिकलाई खोप पुर्‍याउने बताएका हुन् ।

‘कोरोना खोप लगाउने अभियान अगाडि बढिरहेको छ फ्रन्ट लाइनमा रहेर कठिनाइ झेलेकाहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र सम्पन्न गर्नेछौं’, प्रधानमन्त्री ओलीले भने, ‘बाँकी जनतालाई क्रमशः यो सन् २०२१ भित्र सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड– १९ लाई हामी नेपालबाट भगाउँछौं ।’

माघ १४ गते बुधबार बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं’, प्रधानमन्त्री ओलीले भनेका थिए ।

त्यसको तीन दिनमै प्रधानमन्त्री ओलीले बोली फेरिएको हो । सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप दिने योजना अघि सारेको छ । सरकारी अधिकारिहरुले सबै नागरिक हरुलाई खोप दिनका लागि एक वर्ष लाग्ने बताए पनि प्रधानमन्त्री ओलीले तीन महिनमै दिन सकिने बताएका थिए ।

नेपालले कोभिशिल्ड खोपलाई मान्यता दिएर भारतबाट तत्कालका लागि १० लाख खोप ल्याएको छ । त्यसबाहेक अन्य मूलुकसँग पनि खोपका बारेमा कुरा चले पनि अहिलेसम्म टुंगो नलागेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

 
 
  
 

You may also like