विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल

by समतल अनलाइन

भैरहवा । अर्थमन्त्री तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेलले विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना नरहेको बताएका छन् । मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधिसभा पुनस्र्थापनाको संभावना नरहेको उनको भनाइ छ । जनताका पक्षमा कामै नगर्ने र गर्न खोज्नेलाई पनि नदिने गलत प्रवृत्तिका कारणले प्रतिनिधिसभा बन्धक जस्तै बनाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यहीँ प्रवृत्ति चिर्न ताजा जनादेशमा जाने निर्णय गरिएको स्पष्ट पारे ।प्रेस संगठन नेपाल रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले ताजा जनादेश नै अवको एक मात्र निकास रहेको बताए । तोकिएकै मितिमा निर्वाचन हुने र निर्वाचनबाट आफ्नो दल नै जनताबाट अनुमोदित हुने नेता पौडेलले विश्वास व्यक्त गरे । कतिपयलाई अझै पनि संसद पुनस्र्थापना हुन्छ कि भन्ने भ्रम रहेको भन्दै अर्थमन्त्री पौडेलले संविधान बमोजिम नै संसद विघटन भएकाले पुनस्र्थापना नहुने दाबी गरे ।

अर्थमन्त्री पौडेलले यद्यपि संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसलालाई भने सम्मान गर्ने बताए । अर्थमन्त्री पौडेलले निर्वाचनको तयारी गर्न अदालतको फैसला कुर्न नपर्ने उल्लेख गर्दै लोकतन्त्रका विश्वास गर्नेले निर्वाचनको विरोध नगर्ने बताए । उनले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लिएर चुनावमा जाने भन्दै जनताले सरकारले गरेका कामको सही मूल्यांकन गर्ने बताए ।अर्थमन्त्री पौडेलले प्रतिनिसधसभा पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा जानुको कुनै औचित्य नरहेको बताए । उनले सरकारको क्षेत्राधिकारभित्र नपर्ने विषयमा र अदालतको विरुद्धमा आन्दोलन गर्ने कुरा गलत रहेको बताए ।नेकपा महासचिव पौडेलले नेकपाबारे निर्वाचन आयोगले गरेको निर्णयको स्वागत गरे । सडकबाट टिका लगाएर अध्यक्ष हुन नसकिने कुरालाई निर्वाचन आयोगले स्पष्ट पारिदिएको उनको भनाइ छ । उनले निर्वाचन आयोगले चुनावको तयारी अगाडि बढाएको र सुरक्षा निकायले पनि तयारी थालेको भन्दै अव निर्वाचन रोक्ने तागत कसैसँग नरहेको बताए ।

अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलव्ध गराउन लागिएको पनि जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि सरकारले एकदमै राम्रा र सकारात्मक कामहरु गरेको तर, त्यसका विरुद्ध अनेक तत्वले अनावश्यक भ्रम सिर्जना गर्ने कोसिस गरेको उनको दुखेसो थियो ।क्वारेन्टिन निर्माणदेखि आइसोलेशन निर्माण र कोरोना विशेष अस्पताल निर्माणदेखि संक्रमितको निशुल्क उपचार हुँदै अहिले निशुल्क खोपको व्यवस्थासम्मका सबै कामका बारेमा एकपटक स्मरण गर्न उनले आग्रह पनि गरे ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका परिसूचक सकारात्मक रहेको बताए । कोभिड १९ का कारण मुलुकको अर्थतन्त्र लामो समय चलायनमान नहुँदा पनि आर्थिक सूचक भने सन्तोषजनक रहेको उनले बताए ।राजस्वको लक्ष्य अहिले पूरा हुन नसकेपनि आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्य पूरा हुने उनको भनाइ छ । अर्थमन्त्री पौडेल भैरहवामा आउनु अघि भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा समेत सहभागी भएका थिए । अहिले राजस्व संकलन र पुँजीगत खर्चमा केही संकुचन आएको स्वीकार्दै अर्थमन्त्रीले अव भने राजस्व संकलन बढ्ने र पुँजीगत खर्चलाई पनि बढाइने बताए । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध विमानस्थलको आइसिप १ को काम अव सम्पन्न हुने चरणमा पुगिसकेको र सम्पन्न भइसकेपछि आइसिपी(२ को काम सुरु हुने उनले जानकारी दिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा केही समस्या भएमा सरकारबाट समन्वय हुने र तत्कालै समाधानका उपाय खोजिने भन्दै सूचि बनाएर बुझाउन उनले विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीलाई आग्रह पनि गरे ।

 
 
  
 

You may also like