काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच आज (शनिबार) खुमलटारमा भेटवार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँगको भेटवातामा उपाध्यक्ष गौतमले आफू संसद विघटनको विपक्षमा रहेको र त्यो अडान कायमै रहेको स्पष्ट पारेका छन् ।
उपाध्यक्ष बामदेव गौतमले अझै पनि एकताको ठाउँ राखेर आफ्ना गतिबिधि अघि बढाउन विभाजित पार्टीका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । प्रचण्डले बोलाएर आज विहान खुमलटार पुगेका गौतमले पार्टीमा फेरि पनि एकता कायम गर्ने पक्षमा आफ्नो प्रयास हुने बताएको गौतम निकट स्रोतले जानकारी दिएको छ ।
गौतमको भनाई उद्धृद गर्दै स्रोतले भन्यो, ‘म फेरि पनि तपाईले बोलाउँदा कुरा गर्न आउछु । तर एकताको लागि मेरो प्रयास जारी रहने छ ।’ प्रचण्डले भने गौतमलाई उनकै भनाइ अनुसार आफूहरु अघि बढेको तर निर्णायक बेलामा आफूतिर नलागेको भन्दै गुनासो गरेका थिए । गौतम भने प्रतिनिधिसभा विघटनको मुद्दामा सर्बोच्च अदालतको फैसलापछि मात्र आफ्नो कित्ता प्रष्ट पार्ने सोचमा रहेको स्रोत बताउँछ ।
पछिल्लो समय गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दुवैतिर नलागी आपसी छलफलमा थिए । तर अन्तिममा बादल ओलीको पक्षमा उभिए पनि गौतम भने कतै खुलेका छैनन् । उनी निकट नेताहरु दुईतिर बिभाजित भइसकेका छन् ।