अलमलमा सभामुख

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयको छिनोफानो सर्वोच्च अदालतले गर्ने नै छ । प्रतिनिधिसभा विघटनको संकेत दुईचार दिनअघि नै देखिएको थियो । तर त्यतिबेला मौन बसेका सभामुख अग्नि सापकोटा विघटनपछि सक्रिय भएर के गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

प्रतिनिधिसभा विघटनपछि विशेष अधिकार प्रयोग गरेर संसद् बोलाउने विषयमा उनले छलफल मात्र गरेनन्, बुधबार विज्ञप्ति जारी गरेर संसद् विघटन गलत भएको र उच्चस्तरीय राजनीतिक छलफलको आवश्यकता रहेको पनि बताए । उनले अविश्वासको प्रस्ताव साढे ३ बजे नै दर्ता भएको भन्ने विज्ञप्ति जारी गर्न संसद् सचिवालयलाई निर्देशन दिए । अब सभामुखको भूमिका के त भन्ने ज्वलन्त प्रश्न उठेको छ ।

‘सभामुखले अब खेल्ने भूमिका नै के छ र ? उहाँले संसद् बोलाएर हुँदैन, ओली पक्षका सांसद गएनन् भने के हुन्छ ?’ पूर्व सभामुख दमननाथ ढुंगानाले भने, ‘त्यो बाटोले पनि सभामुखलाई राम्रो गर्दैन । उहाँले संसद् विघटन हुने हल्ला चल्ना साथ प्रधानमन्त्री र राष्ट्रपतिलाई गुहार्नु पथ्र्यो ।’ त्यसो गर्न नसक्दा सभामुख चिप्लिएको उनको भनाइ छ । ‘अब सक्रियता देखाएर उहाँले केही गर्न सक्नु हुन्न,’ ढुंगानाले भने ।

सभामुख कार्यकक्षमै भएका बेला संसद्मा अविश्वासको प्रस्ताव आउँदा दर्ताको समय दुईथरी हुनुको कारण के हो ? किन यस्तो भइरहेको छ ? सभामुखले सदर गरेर पठाउने कुरा कति बेला भएको थियो ? सभामुखले आफूले सदर गरेको कुरा किन भन्न सकेनन् ? अहिले यस्ता प्रश्न उठिरहेका छन् । नेकपाका भीम रावल, पम्फा भुसाल, देव गुरुङ अविश्वासको प्रस्ताव लिएर सभामुखको कार्यकक्षमा पुगेका थिए ।

अविश्वासको प्रस्ताव पुस ५ गते पहिलोचोटि १० बजेर ३० मिनेट जाँदा, त्यसपछि १० बजेर ५० र त्यसपछि ३ बजेर ३० मिनेट जाँदा दर्ता भयो भन्ने कुरा किन आयो ? यस विषयमा अदालतमा प्रश्न उठ्न सक्ने एक नेताले बताए । नागरिक दैनिकबाट

 
 
  
 

You may also like